अपराधलाई राजनीतिक आवरणमा छुट दिने गरी आएको प्रावधान हटाउपर्नेमा जोड

काठमाडौँ । सांसदहरुले शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने भन्ने प्रावधानसहित आएको संशोधनलाई खारेज गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा संशोधनकर्ता सांसदहरुले अपराधलाई राजनीतिक आवरणमा छुट दिने गरी आएको प्रावधान हटाइनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा सांसदहरु सूर्य थापा, मैना कार्की, कुसुमदेवी थापा, सिता मिजार, डा। अमरेश कुमार सिंह, रघुजी पन्त, सुमना श्रेष्ठ, प्रदिप पौडेल, विद्या भट्टराई, गणेश पराजुली, ज्ञानबहादुर शाही, नारायणप्रसाद आचार्य र अमृतलाल राजवंशीले राजनीतिक आवरणमा अपराधीलाई छुट दिने गरी आएको प्रस्ताव संविधान, मानव अधिकार र लोकतन्त्र विरोधी भएको बताउनुभयो ।
छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सांसदहरूबाट आएका संशोधनप्रति आफ्नो ध्यान केन्द्रित भएको र समितिबाट आएको विषयलाई स्वीकार गर्दै अगाडि बढ्ने बताउनुभयो ।
मन्त्री गुरुङले कुनै पनि समितिमा विधेयक आइसकेपछि त्यो विधेयक समितिको सम्पत्ति हुने र त्यसलाई थप समृद्ध पारेर समितिले पठाउन सक्ने पनि बताउनुभयो ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ६४ मा मुलुकी कार्यविधि संहिता २०७४ को दफा ११६ मा कुनै पनि राजनीतिक दल वा समूहले मुलुकको राजनीतिक प्रणालीसँग सहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन चाहेमा नेपाल सरकारवादी भई दायर गरेका मुद्दा फिर्ता लिन सक्ने व्यवस्था थप गर्ने गरी विधेयकमा प्रस्ताव गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्