तपाईँ सुन्दै हुनुहुन्छः

अपराध अनुसन्धान प्रक्रिया छिटोछरितो एवं पारदर्शी हुनुपर्छ : मुख्यमन्त्री कार्की 

विराटनगर । आधुनिक ज्ञानको प्रयोगबाट अपराध अनुसन्धान प्रक्रिया सहज बनाउने उद्देश्यले  विराटनगरमा आधुनिक समाजमा विधि विज्ञान  र वैज्ञानिक प्रमाणको प्रयोग विषयक तालिम आजदेखि शुरु भएको छ । 

मुख्यन्यायाधिवक्ता कोशी प्रदेश कार्यालयको आयोजनामा भएको तालिममा कोशी प्रदेशका अस्पताल नेपाल प्रहरी, जिल्ला तथा उच्च अदालतलगायत अपराध अनुसन्धानमा संलग्न मातहतका कार्यालयका अनुसन्धान अधिकृत तथा सरकारी वकिलहरूको  सहभागिता रहेको छ । 

तालिमको उद्घाटन गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकहरूले छिटो छरितो एवं  सही रुपमा न्याय पाउन अपराध अनुसन्धान प्रक्रिया सहज र वैज्ञानिक हुनुपर्ने बताउनुभयो । 

उहाँले नयाँ प्रविधिको विकाससँगै आधुनिक तवरका अपराधका घटना वृद्धि भइरहेको अवस्थामा आपराधिक घटनामा संलग्नलाई जतिसक्दो चाँडै कानुनको दायरामा ल्याउन आधुनिक ज्ञान  र प्रविधिको माध्यम अपनाएर अनुसन्धान प्रक्रिया अघि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले विभिन्न प्रविधि अपनाएर समाजमा अपराधका घटना गर्नेहरू अझै पनि सबुत तथा प्रमाणको अभावमा कानुनी दायरामा आउन नसकेको भन्नुहुँदै उनीहरुलाई कानुनी दायरामा ल्याउन अपराध अनुसन्धान प्रक्रियालाई चुस्त दुरुस्त र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अपराधका घटना घटेपछि निष्पक्ष र प्रभावकारी अनुसन्धान हुन नसक्दा नागरिकहरूले न्याय पाउन नसकिरहेको अवस्थामा पोस्टमार्टम गर्दा होस् वा घटनाको अनुसन्धान गर्दा त्यस्ता विषयमा अध्ययन अनुसन्धान पारदर्शी हुनु जरुरी रहेको बताउनुभयो ।

उहाँले अपराध गर्नेलाई कुनै पनि  प्रकारको  छुट वा  उन्मुक्ति  पाउने  कुरा कुनै पनि हालतमा मान्य नहुने भएकाले सम्बन्धित व्यक्तिहरूले आफ्नो काम कर्तव्य जिम्मेवारी इमानदारिताका साथ पुरा गर्नुपर्ने बताउनुभयो । 

 कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता  रुपेश  कोइरालाले आधुनिक  र वैज्ञानिक प्रविधिबाट अनुसन्धान प्रक्रियालाई अगाडी बढाउन  मद्दत पुगोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेका बताउनुभयो । अपराध गर्ने हरुले जस्तोसुकै नयाँ  प्रविधि  अपनाएर अपराध गरे पनि उनीहरूले कानुनी  रुपमा  उन्मुक्ति पाउन नसक्ने उहाँको भनाई थियो ।

सो अवसरमा प्राध्यापक डा‍. हरिहर वस्तीले कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । तालिममा डा..राजेश साह, डा. ज्वाला कँडेल, डा .मनोज लिम्बु, डा.सुम्मिठा धौमडेल तथा डा.दिक्षान्त पोखरेलले प्रशिक्षण दिनुहुने मुख्यन्यायाधिवक्ता  कोइरालाले बताउनुभयो । 

तीन दिनसम्म चल्ने सो तालिममा  ३५  जनाको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button