पोखरा महोत्सवमा १२ करोड बराबरको कारोबार

पोखरा । पोखराको यूनाइटेड क्लबको आयोजनामा पोखरामा सम्पन्न भएको बाह्रौँ संस्करणको पोखरा महोत्सवमा १२ करोड बराबरको आर्थिक कारोबार भएको छ ।
गत पुष २६ गतेदेखि पोखराको अम्मरसिंह चौरको खेल मैदानमा सञ्चालन भएको उक्त महोत्सवमा करिब २ लाख भन्दा बढी दर्शक भित्रिदा १२ करोड मूल्य बराबरको आर्थिक कारोबार भएको महोत्सवका अर्थ व्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँले बताउनु भयो । महोत्सवमा ३ सय बढी व्यापारी स्टलहरू रहेका थिए ।
यसैबीच, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोमबार एक समारोहका बीच उक्त महोत्सवको समापन गर्दै यती एयरलायन्सको जहाज दुर्घटना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुङ्गे पुल निर्माणमा यूनाइटेड क्लबसँग सहकार्य गर्ने बताउनु भएको छ । एक वर्ष अघि माघ १ गते पोखरा महोत्सव सञ्चालन भइरहँदा पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुर्घटना भएको स्मरण गर्दै महानगरले उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गरिसकेको र उक्त ठाउँमा पोखरा महानगरले जहाज दुर्घटना स्थललाई पर्यटकीय गन्तव्य बनाउने गरि झोलुंगेपुल निर्माण गर्ने र उक्त काममा यूनाइटेड क्लब सँग सहकार्य गर्ने प्रतिबद्धतासमेत गर्नु भएको हो ।
महानगरले जहाज दुर्घटना भएको क्षेत्र पोखरा १५ र १७ को बीचमा पर्ने सेती नदी माथि झोलुंगेपुल निर्माण गर्ने योजना अघि सारेको छ ।
त्यस्तै यूनाइटेड क्लबले पोखरा महानगरभित्र देखिने गरी कुनै एक काम गरेमा उक्त काममा पनि महानगरले सहयोग गर्ने उहाँको भनाइ रहेको थियो । पोखरालाई जतिसक्दो छिटो पर्यटकीय राजधानी घोषणा गर्ने बताउँदै मेयर आचार्यले पोखरामा आयोजना हुने मेला महोत्सवहरूले भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने बताउनु भयो । पोखरा महानगर भित्र आयोजना हुने मुख्य महोत्सवहरू फरक फरक उद्देश्यले अगाडि बढिरहँदा यूनाइटेड क्लबले सामाजिक काम गरेर अगाडि बढिरहेको र महानगरभित्र वन्यजन्तुको अध्ययन केन्द्र आवश्यक रहिरहँदा पोखरा जुलोजिकल पार्कको कामलाई प्रदेश सरकारले छिट्टै सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा समेत उहाँको जोड थियो ।
त्यस्तै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बिजयपुर र सेती नदिको बिच भागमा मेला महोत्सव नभइरहँदा यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी अमरसिंह क्षेत्रलाई चिनाउन सफल भइएको बताउनु भयो । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले युवाहरूद्वारा सञ्चालित यूनाइटेड क्लबले महोत्सवको आयोजना गरि सामाजिक काम गर्नु आफैमा चुनौतीपूर्ण कार्य रहेको बताउनु भयो ।
त्यस्तै डाक्टर कृष्ण केसीले पोखरा महोत्सवले अमरसिंह चोकलाई चिनाउने काम गरेको बताउँदै सेती नदी संरक्षणको लागि क्लबले वडा नम्बर १० बाटै काम शुरु गर्ने गरी अवधारणा बनाउन समेत सुझाव दिनु भयो । पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले पोखरा आफैमा प्रकृतिले दिएको सुन्दर सहर रहिरहँदा यूनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि पोखरामा थप सौन्दर्ययता थपेको बताउनु भयो ।
अमरसिंह माविका प्रधानाध्यापक शेर बहादुर थापाले यूनाइटेड क्लबले सामाजिक काममा अगाडि बढिरहँदा आफ्नो विद्यालयमा सभा हलको अभाव रहेको बताउँदै सभाहल निर्माणका लागि आग्रह गर्नु भयो ।
महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले दर्शक र सहयोगी संघ संस्थाहरूकै कारण बाह्रौँ संस्करणको पोखरा महोत्सव सफलतापूर्ण सम्पन्न भएको बताउनु भयो ।
महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी कलाकार प्रजापति पराजुली, शङ्कर विरही गुरुङ, जीवन दाहाल, शिवहरी ढुङ्गाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुतिमा दर्शकहरूले मनोरञ्जन लिएको क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले बताउनु भयो । साँझको लाइभ ब्यान्डतर्फ जिबबको प्रस्तुतिमा युवाहरूको उत्साहजनक सहभागिता रहेको क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्