तपाईँ सुन्दै हुनुहुन्छः

सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा

इलाम । इलामको पशुपतिनगरमा भारतीय सवारीलाई नेपाल प्रवेशमा सहज बनाउनका लागि सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा ल्याइएको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहने गरी आजबाट सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा ल्याइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै उहाँले पशुपतिनगरमा भारतीय पर्यटकलाई पटके काट्ने व्यवस्था नहुँदा हुँदै आएको समस्या हटेको बताउनु भयो ।

प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँचसय १० रुपियाँ र मोटरसाइकलको दुई सय १० रुपियाँ राजस्व लिने व्यवस्था गरेको छ । कार्यक्रममा कोशी प्रदेशका यातायात महाशाखा प्रमुख सुभाष कार्कीले भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनमा केन्द्र सञ्चालनले सहज हुने बताउनु भयो ।

यातायात व्यवस्था सेवा कार्यालय इलामका कार्यालय प्रमुख छवि खतिवडाका अनुसार भारतीय सवारीले पटके काट्ने तथा नेपालकै पनि रुट पर्मिट भएका सवारीले अन्यत्र जाँदा पटके काट्न उक्त केन्द्रबाट सक्ने छन् । भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजश्व बुझाउने व्यवस्था गरिएको छ । प्रमुख खतिवडाका अनुसार एक पटक पटके काटेका भारतीय सवारीले ७ दिन सम्म कोशी प्रदेश भित्र भरी जान पाउने व्यवस्था गरिएको छ । सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो । व्यापक जनगुनासोका आधारमा कार्यालय स्थापना गरिएको प्रमुख खतिवडाले जानकारी दिनु भयो ।

खतिवडाले भन्नु भयो‘केन्द्र स्थापना भए पछि सीमा क्षेत्रमा सरकारको उपस्थिति देखिनुका साथै सरकारी राजस्व समेत बढ्ने छ ।’ केन्द्र उद्घाटन पहिलो दिन नै १५ वटा सवारीले पटके काटेको केन्द्रले जनाएको छ । पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई केन्द्र स्थापनाले सहज हुने जनाइएको छ । केन्द्र नहुँदा भारतबाट आएका सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको थियो ।

उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले केन्द्र सञ्चालनले नेपाल प्रवेश गर्ने भारतीय पर्यटकमा सकारात्मक सन्देश जाने बताउनु भयो । पशुपतिनगर नाका भएर ठूलो सङ्ख्यामा भारतीय पर्यटक नेपाल भित्रिने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button