तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप एक दिवसीय: सुदूरपश्चिमको लगातार तेस्रो जित

भैरहवा । गण्डकी प्रदेशलाई १ सय ८ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्न सफल छ । लगातार तेस्रो जितसँगै सुदूरपश्चिम प्रदेश अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आज रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा अलआउट हुँदै २ सय १ रनको बलियो योगफल बनाएको थियो । सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले ७३ बलमा ५ चौकासहित सर्वाधिक ६० रन जोड्न सफल भए । यस्तै, नारायण जोशीले ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाए ।

एक समय ७२–६ को दयनीय अवस्थामा पुगेको सुदूरपश्चिमलाई खेलमा फर्काउन सातौँ विकेटका लागि नारायण र किरणले ७५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आठौँ विकेटका लागि करणले नरेन साउदसँग ४६ रनको साझेदारी गरे । दुई साझेदारीले सुदूरपश्चिमलाई जितको आधार तय गरेको हो । 

सुदूरपश्चिमका शेर मल्लले १९, राजु रिजालले १६, टेक रावतले १५ र  नरेन साउदले १३ रन बनाए । बलिङमा गण्डकीका विपिन खत्री र अंकित सुवेदीले ३–३ तथा कमल परियार र अमृत गुरुङले समान २–२ विकेट लिए ।

जवाफमा जितका लागि २ सय २ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको गण्डकी ३० ओभर २ बलमा ९३ रनमा अलआउट हुन पुग्यो । गण्डकीका आश्विानी रानाले ६७ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाउँदा कमल परियारले २२ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन नसक्दा टीमले हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न सुदूरपश्चिमका शेर मल्लले ८।२ ओभरमा १ मेर्डनसहित २३ रन खर्चेर ५ विकेट लिए । यस्तै, गजेन्द्र बोहराले २, भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १–१ विकेट लिए ।

सुदूरपश्चिमले यसअघि कर्णालीलाई १ सय ३४ रन र लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै जित निकालेको थियो । गण्डकी भने कर्णालीसँग ७ विकेट र लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । आजको जितसँगै सुदूरपश्चिम ३ खेलमा ६ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । एपीएफ २ खेलमा ४ अङ्कका साथ दोस्रो स्थानमा छ । नेपाल पुलिस २ खेलमा ४ अङ्कका साथ तेस्रो स्थानमा छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button