तपाईँ सुन्दै हुनुहुन्छः

भूमि आयोगको काममा स्थानीय तहको उदासीनताका कारण प्रभावित

बैतडी । राष्ट्रिय भूमि आयोग बैतडीले सुकुम्वासीलाई जग्गा वितरण गर्ने कार्यक्रममा स्थानीय तहको उदासीनताका कारण अपेक्षित रूपले काम हुन सकेको छैन । 

आयोगले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जासहित जग्गा वितरण गर्नका समन्वयको काम गर्ने र जग्गा वितरणका अधिकांश कामहरू स्थानीय तहले गर्नुपर्नेमा कतिपय स्थानीय तहको उदासीनता देखिएको हो । 

आयोगका अध्यक्ष धर्मसिंह ऐरका अनुसार बैतडीको डिलाशैनी र सिगास गाउँपालिकाले काममा कम चासो दिएका छन् । 

जिल्लाको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाले भने सबैभन्दा छिटोछरितो रूपले काम सम्पन्न गरेका छन् । जग्गा पाउनेमा पञ्चेश्वरका दुई हजार दुई सय र शिवनाथका १ हजार ३ सय व्यक्तिको नाम समावेश हुँदा दशरथचन्द नगरपालिका भित्रका भने जम्मा ९७ जनाको नाम समावेश रहेको छ । 

वास्तविक भूमिहीनको तथ्याङ्क सङ्कलन नभएको अधिकारकर्मी राजुभुल बताउनुहुन्छ । उहाँले टोल भेलामार्फत वास्तविक तथ्याङ्क सङ्कलन गर्नुको सट्टा सूचना टास गर्ने र सूचना स्थानीयबासीले थाहा नपाउँदा तथ्याङ्कमा नाम समावेश नभएको बताउनुभयो । अहिले सुस्त गतिमा काम गरिरहेका पालिकाहरूले अझैपनि चासो दिई काम सम्पन्न गर्न ऐरको आग्रह छ । 

जिल्लाको तीन नगरपालिका र दुई गाउँपालिकाले अहिले कामको गति बढाएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button