सञ्चार ग्रामको विषयमा थप प्रचार प्रसार आवश्यक : नेता कोइराला
विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले ऐतिहासिक धरोहरको रुपमा रहेको सञ्चार ग्रामको विषयमा थप प्रचार प्रसार आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर महानगरपालिका–४ स्थित खार्जीमा रहेको तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्रामको आज अवलोकन एवं निरीक्षण गर्नुहुँदै नेता कोइरालाले सञ्चार ग्रामको महत्व र यसले गर्ने क्रियाकलाप जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार ग्रामले दिँदै आएको सेवा प्रवाहले यसक्षेत्रका मानिसलाई सुसूचित बनाइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

रेडियो प्रविधि, कला साहित्य सांस्कृतिक तथा गीत सङ्गीतको विकासमा सञ्चार ग्राम एउटा केन्द्रको रुपमा स्थापित भएको आफूले पाएको उल्लेख गर्नुहुँदै उहाँले यसको विकासमा आफ्नो सहयोग निरन्तर रहिरहने बताउनुभयो ।

निरीक्षणको क्रममा सञ्चार ग्राम सञ्चालक समितिका अध्यक्ष एवं रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले सञ्चार ग्रामका क्रियाकलाप र यसको उद्देश्यबारे जानकारी गराउनुहुँदै आगामी माघ–१६ गते सहिद दिवसको अवसर पारेर सञ्चार ग्राममा सञ्चालन हुँदै आएको रेडियो संग्राहलय, ई–लाइब्रेरी तथा रेडियो नेपालको इतिहास र तारिणी प्रसाद कोइरालाको जीवनीमा आधारित वृत्तचित्र सरोकारवालका लागि खुल्ला गर्न लागिएको बताउनुभयो । सञ्चार ग्राम पूर्ण रुपमा सञ्चालनमा आएसँगै यसलाई व्यावसायिक रुपमा अघि बढाउने सोचमा आफूहरू रहेको उहाँले बताउनुभयो ।

तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्रामका निर्देशक पुष्करराज गौतमले सञ्चार ग्रामको स्थापनाले यस क्षेत्रको कला संस्कृति, गीत सङ्गीत तथा पत्रकारिता क्षेत्रको विकासमा मद्दत पुगेको उल्लेख गर्नुभयो ।
सञ्चार ग्राम विराटनगरका प्रमुख बलराम चौधरीले सञ्चार ग्रामबाट रेडियो नेपालले १ सय ३ मेघाहर्जमा महानगर एफएम प्रसारण गर्दै आएको बताउनुभयो ।

निरीक्षणका क्रममा नेता कोइरालाले रेडियो नेपालको इतिहास र तारिणीप्रसाद कोइरालाको जीवनीमा आधारित वृत्तचित्र सबै सहभागीहरूसँग बसेर हेर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्