संस्कृति जोगाउन कुमाल समाजको मेघौलीमा मेला

चितवन । कुमाल समाज नेपालले देशमै पहिलो पटक सबैभन्दा ठूलो मेला मेघौलीस्थित गोलाघाटमा आयोजना गरेको छ ।
यही पुस २८ गतेदेखि सुरु भएको भव्य मेला माघे सङ्क्रान्तिको दिन प्रकृति पूजासँगै समापन गर्ने तयारी गरेको छ ।
खासगरी, कुमाल समुदायले माघे सङ्क्रान्तिलाई माघे सङ्क्रान्ति भन्छन् । अन्य समुदायले माघे सङ्क्रान्ति पर्वलाई आफ्नो पर्व भनिरहँदा कुमाल समुदायले पनि आफ्नो पहिचान स्थापित गराउनका लागि पहिलो पटक ठूलो मेला लगाएको कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर (विशाल) कुमालले जानकारी दिनुभयो ।
राप्ती र नारायणी नदीको संगमस्थल गोलाघाटमा बृहत् सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम आयोजना गरेर कुमाल समाजको केन्द्रीय समितिले देशभरका कुमालहरूलाई एकै ठाउँमा उभ्याउने प्रयास गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रमसहित मौलिक भेषभूषा प्रदर्शन तथा पहिचानसम्बन्धी प्रशिक्षण समेत हुनेछ ।
मेला परिसरमा कुमाल जातिको पुरानो मौलिक घरसमेत निर्माण गरिएको छ । गोलाघाटको नदी किनारमा सबैभन्दा आकर्षणको केन्द्र यही घर बनेको छ । कालो सुँगुरको मासु र कोदोको रक्सी (तीनपाने)लाई प्रमुख परिकारको रुपमा लिँदै आएको कुमाल समुदायले समुदायभित्र प्रचलित अन्य खानाका परिकारलाई समेत प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
मेलाका प्रचारप्रसार संयोजक राजन कुमालले माघे सङ्क्रान्ति कुमाल समुदायका लागि सबैभन्दा ठूलो पर्व भएको बताउनुभयो । पछिल्लो समय कुमाल जातिको आफ्नै मौलिक संस्कृति, भाषा र परम्परा लोप हुँदै गइसकेको हुँदा संरक्षणका लागि नि यस्ता कार्यक्रम आवश्यक पर्न थालेको तत्कालीन कुमाल उत्थान मञ्चका संस्थापक अध्यक्ष जयमङ्गल कुमालको भनाई छ ।
चितवन जिल्लामा अधिकांश कुमाल बाहिरी जिल्लाबाट बसाइ सरेर आएको हुँदा तीन पुस्ता पहिलेदेखि नै भाषा, संस्कृति लोप भइसकेको उहाँले बताउनुभयो ।
कुमाल जातिमा माटोको भाँडा बनाउने परम्परा पनि करिब करिब लोप भइसकेको हुँदा मौलिक सीप संरक्षण र संवर्द्धनका लागि पनि यो मेला विशेष हुने उहाँ बताउनुहुन्छ ।
“कुमाल जातिले माटोको भाँडा बनाउने पेसा अपनाउने कुरा थाह पाए पनि चितवनमा अहिलेसम्म कुनै पनि कुमालले यो काम गरेको देखेको छैन”, उहाँले भन्नुभयो, “कास्कीको पोल्याङ, पाल्पाको घोरबन्द र प्रवासलगायतका केही क्षेत्रमा सीमित भएको छ ।”
कुमाल समाज नेपालको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा धेरै पूर्व नवलपरासी जिल्लामा कुमाल जातिको बसोबास रहेको पाइन्छ । चितवनमा भने सबैभन्दा धेरै कुमाल जातिको बसोबास साबिकको मेघौली गाउँ विकास समितिमा रहेको कुमाल उत्थान मञ्चका संस्थापक अध्यक्ष जयमङ्गल कुमाल बताउनुहुन्छ ।
नेपालको जनगणना २०७८ अनुसार कुमाल समुदायको जनसङ्ख्या देशभर एक लाख २९ हजार ७०२ र चितवनमा ११ हजार ४०५ जना छन् ।







प्रतिक्रिया राख्नुहोस्