अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान फुटबलको पाचौं संस्करण फागुन ७ देखि
चितवन । स्व. पाचौं दिलीप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण एट ए साइड भेटेरान फुटबल फागुन ७ देखि हुने भएको छ ।
चितवन भेटेरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका खेलहरू भरतपुर ७ स्थित कृष्णपुरको मैदानमा हुनेछ । प्रतियोगितामा नेपाल, भारत र बङ्गलादेशका गरी १६ टोलीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।
१६ टोली निश्चित भए पनि एक–दुई टोली थप हुन सक्ने कार्यक्रम संयोजक हरिप्रसाद भट्टले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने भट्टले बताउनुभयो ।
हरेक खेलको म्यान अफ दि म्याचले एक हजार र प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही पाँच–पाँच हजार रुपैयाँ पाउनेछन् ।
देश र विदेशबाट खेलाडीहरू आउने भएकोले भरतपुर भ्रमण वर्षको प्रवर्द्धनका लागि पनि टेवा पुग्ने उहाँको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्न १३ लाख खर्च हुने अनुमान आयोजकको छ ।
क्लबले हरेक वर्ष स्व राणाको स्मृतिमा प्रतियोगिताको आयोजना गर्दै आएको छ । स्व. राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन् ।







प्रतिक्रिया राख्नुहोस्