राष्ट्रियसभा निर्वाचन: गठबन्धनको पक्षमा दृढतापूर्वक उभिन संयुक्त अपिल

काठमाण्डौ । सत्ता गठबन्धनका दलहरुले राष्ट्रियसभाका सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेद्वारलाई मतदान गर्न अपील गरेका छन् ।
सत्ता गठबन्धन दलको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनलाई संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित बनाउन गठबन्धनका साझा उम्मेद्वारलाई मतदान गर्न अपील गरेको हो ।
गठबन्धन दलमा आवद्ध सात राजनीतिक दलले राष्ट्रियसभा सदस्यका लागि १९ जना साझा उम्मेद्वार बनाएको छ । सात दल आबद्ध गठबन्धनले साझा उम्मेद्वारहरुमा कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ६, नेकपा एकीकृत समाजबादीका २ र जनता समाजबादी पार्टीका १ जना रहेका छन् ।
सत्ता गठबन्धन दलले जारी गरेको अपीलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजबादीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले हस्ताक्षर गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्