माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक अहिले जारी छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल भइरहेको जनाइएको छ ।
माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ । सम्मेलन अगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो । उक्त समितिले शुक्रबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो ।
आजको बैठकमा माओवादी केन्द्रले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को पनि समीक्षा हुनेछ । प्रदेश इन्चार्जले अभियानका बारेमा जानकारी गराउने बताइएको छ । माओवादी केन्द्रले गत भदौ १६ देखि यही पुस १६ सम्म रूपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्