दुर्गम भेरीखोलामा फोरजीसहितको टेलिफोन सेवा सुरु

जुम्ला । तातोपानी गाउँपालिकाको दुर्गम क्षेत्र वडा नं. ७ र ८ का दर्जनौँ बस्ती सञ्चारको पहुँचमा पुगेका छन् ।
वडा नं. ८ स्थित थलाले टावर सञ्चालनमा आएसँगै दुर्गम भेरीखोला फोर जीसहितको इन्टरनेट र टेलिफोन सेवाको पहुँचमा पुगेको हो ।
वर्षौँदेखि अलपत्र थलाले टावर बुधबारदेखि सञ्चालनमा आएको हो । आधारभूत सेवाभित्र पर्ने सञ्चार सेवाबाट वर्षौँदेखि वञ्चित हुँदै आएको भेरीखोला क्षेत्रका नागरिक थलाले टावर सञ्चालनमा आएसँगै उत्साहित भएका छन् ।
भेरीखोला क्षेत्रका टोप्ला, डुंग्री, बारगाउँ, ताम्ती, सर्मी, सुर्की, गाडापारी, कयाकोट, लगायतका दर्जनौँ गाउँ र बस्तीहरूका हजारौँ नागरिक सञ्चार सेवा विस्तारपछि खुसी भएको तातोपानी ७ का वडाध्यक्ष तिलक रावतले बताउनुभयो ।

सूचना र प्रविधिको समयमा पनि भेरीखोलाका बासिन्दा टावर नहुँदा आफन्तसँग सूचना आदान प्रदान गर्नबाटै वञ्चित थिए । ढिलै भएपनि थलालेमा रहेको नेपाल टेलिकमको टावर सञ्चालन आएसँगै सम्पुर्ण भेरीखोला क्षेत्र सञ्चार सेवाको पहुँचका पुगेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो ।
वर्षौँदेखि अलपत्र रहेको थलाले टावर सञ्चालनका लागि पालिकाले निरन्तर ताकेता गरिरहेको थियो ।
उहाँले भन्नुभयो, “ठेकेदारले हाम्रो ताकेता र भेरीखोला बासीको समस्यालाई बुझ्दै टावर निर्माणलाई पूर्णता दिएर सञ्चार सेवा सुरु भएको हो । यसलाई पालिका एक उपलब्धीका रुपमा लिएका छाँै । अब बैंकसँग समन्वय गरी भेरीखोलामै बैङ्क स्थापना गर्ने विषयमा पहल थाल्ने छौँ । त्यसपछि त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न पालिका आउने झन्झट पनि अन्त्य हुने छ ।”








प्रतिक्रिया राख्नुहोस्