विद्यार्थीलाई ‘सहकारी’ पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
उपमहानगरपालिकाले विद्यालयमा गत वर्षदेखि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरे को हो । सहकारीका विषयमा विद्यालय स्तरका बालबालिकालाई जानकारी गराउँदै सहकारी अभियानलाई प्रभावकारी बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको सहकारी शाखा प्रमुख प्रविन रानाले बताउनुभयो । समाजमा सहकारी अभियानबारे बढ्दो अविश्वास र नकारात्मक धारणालाई चिर्दै समाजमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सहकारी धारणाबारे बोध गराउन खोजेको प्रमुख रानाले बताउनुभयो ।
गत बर्ष चार वटा विद्यालयमा पुगेर माध्यमिक तहका विद्यार्थीलाई सहकारीबारे सिकाएको सहकारी शाखाले यस पटक नगरका १६ वटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थीलाई एकै ठाउँमा राखेर सहकारी अवधारणाबारे बोध गराएको उहाँले जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरूलाई सहकारीको अवधारणाबारे बोध गराउने उद्देश्यले विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र अधिकारी, नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्र धमला र नेपालगञ्ज उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख रानाले विद्यार्थीलाई प्रशिक्षित गर्नुभएको थियो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले सहकारीको महत्वबोध गराउन कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । सरकारले आर्थिक राष्ट्रको आर्थिक विकासका तीन खम्बा मध्येको एक खम्बाका रुपमा सहकारीलाई स्विकारिसकेको बताउँदै उहाँले सहकारी अभियानलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्