मुख्यमन्त्री जम्कट्टेलद्धारा वार्षिक कार्य प्रगति सार्वजनिक
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक वर्षे कार्य प्रगति सार्वजनिक गर्नुभएको छ । सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा बुधबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री जम्कट्टेलले प्रगति सार्वजनिक गर्नु भएको हो ।

२०७९ साल पुस २५ गते कार्यभार सुरु गरेको प्रदेश सरकारले एक वर्ष पुगेको अवसरमा प्रदेश सरकारले गरेका कामको बारेमा जानकारी गराइएको थियो । सो अवसरमा बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले एक वर्षमा २४ पटक प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक बसेको साथै १३८ वटा निर्णय भएको बताउनुभयो । यो बिचमा प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको ७ वटा ऐन जारी भएको छ, भने ५ वटा नियमावली राजपत्रमा प्रकाशित भएको जनाइएको छ । प्रदेश सरकारको कार्य सरलीकरण तथा प्रभावकारी बनाउन निर्देशिका, कार्यविधि र मापदण्ड स्वीकृत भएको उपाध्यायले जानकारी गराउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको १४ वटा मन्त्रालयको सङ्ख्या घटाएर १२ वटा बनाइएको उल्लेख गर्नुभयो । प्रदेश सरकारले सङ्गठन विस्तार गरी जिल्ला तहमै जनतालाई सेवा दिने काम गरेको समेत उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारले पछिल्लो एक वर्षमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको दाबी गर्नुभयो ।
जनरल बेडलाइ निःशुल्क र स्वास्थ्य कर्मचारी व्यवस्थापन स्वास्थ्यमा क्रान्ति भएको मुख्यमन्त्री जम्कट्टेलको दाबी छ । आफू मुख्यमन्त्री भएपश्चात् चालु आर्थिक वर्षमा ३० प्रतिशत खर्च कटौती भएको उहाँले बताउनुभयो ।
सरकारले निजामती सेवा ऐन पारित गरी ५ वर्षदेखि रोकिएको कर्मचारी बढुवाको कार्य गरेको, प्रदेश सरकारले गरेका कामको विवरण उल्लेख गरी पुस्तक नै प्रकाशन गरिएको, शिक्षामा आवासीय ढाँचा लागु गरिएको, भौतिक पूर्वाधारतर्फ एक वर्षमा २७२ किलोमिटर सडक कालोपत्रे गरेको पुस्तकमा उल्लेख छ ।
प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गरेको मुख्यमन्त्री जम्कट्टेलले दाबी गर्नुभएको छ । आफू नेतृत्वको प्रदेश सरकारमा विवाद नहुनु पनि उपलब्धिको विषय भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, नीति तथा योजना आयोगका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्