तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमको सेवा चाँडै ७७ वटै जिल्लामा विस्तार हुन्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवा मार्फत देशका दुर्गम क्षेत्रका जनजीवन मूल प्रवाहमा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

नेपाल टेलिकमबाट रुकुम पूर्वको रुकुमकोट र रुकुम पश्चिमको मुसिकोटमा अप्टिकल फाइबर ट्रान्समिसन लिङ्क पुर्‍याई फोन, इन्टरनेट र टेलिभिजन सहितको एफ.टि.टि.एच. सेवाको सिंहदरबार स्थित मन्त्रालयबाट भर्चुअल रुपमा उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले आम नागरिकको पहुँचमा टेलिकम सेवालाई विस्तार गर्ने उद्देश्यबाट सरकारले नेपाल टेलिकमको सेवालाई चाँडै ७७ वटै जिल्लामा विस्तार गर्ने गरी कार्य गरिरहेको बताउनुभयो ।

मन्त्री शर्माले सरकारले सूचना र प्रविधिको विकास तथा विस्तारलाई उच्च प्राथमिकता दिइरहेको भन्नुहुँदै अप्टिकल फाइबर सेवाको सहज पहुँच र विस्तारले आम नागरिकको सामाजिक, आर्थिक जीविकामा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने पनि बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले मुलुकका सबै भागमा नेपाल टेलिकम भ्वाइस र डेटा सेवा विस्तार गरी आम नागरिकको सहज पहुँचमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

हालसम्म रुकुम पश्चिमसहित ७४ जिल्लामा नेपाल टेलिकमको अप्टिकल फाइबर सेवा विस्तार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button