तपाईँ सुन्दै हुनुहुन्छः

नवलपुरमा तोरी बालीमा झुसिल किराको प्रकोप 

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा तोरी बालीमा झुसिल किराको प्रकोप देखिएको छ ।

बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा झुसिल किराको प्रकोप बढी देखिएको छ । पाक्न ठिक्क परेको तोरी बाली झुसिल किराले सखाप पारेपछि यहाँका किसान चिन्तित बनेका छन् । 

सर्दी क्षेत्रमा मात्रै करिब ५० बिगाहा क्षेत्रफलमा लगाएको तारी बाली झुसिल किराले सखाप पारेको स्थानीय अगुवा यादव पौडेलले जानकारी दिनुभयो । 

त्यस्तै, सर्दीका बालकृष्ण पौडेलको डेढ बिगाहा  क्षेत्रफलमा लगाएको तोरी झुसिल किराले सखाप पारेको गुनासो गर्नुभयो । “हामी किसानले केही गरे पनि सुख नहुने भयो । यसपालि तोरी निकै राम्रो भएको थियो । तर कोसा जति सबै झुसिल किराले  सखाप पारेर खाएको छ । यसपालि तोरी भित्राउन नपर्ला जस्तो छ ।”, पौडेलले भन्नुभयो ।

अर्का किसान जयलाल खनालले पनि एक बिगाहा क्षेत्रफलमा लगाएको तोरी सबै झुसिल किराले खाएर सखाप पारेको गुनासो गर्नुभएको छ । एउटै बोटमा चार पाँच वटासम्म झुसिल किरा बसेर रातभरिमा सबै सखाप पार्ने गरेको उहाँले बताउनुभयो । 

यस्तैगरी पदम पङ्गेनीको एक बिगाहा, कृष्ण पङ्गेनीको पनि एक बिगाहा  क्षेत्रफलमा लगाएको तोरी सबै झुसिल किराले सखाप पारेको छ ।  “स्याहार्ने बेलामा तोरी जति सबै झुसिल किराले भ्यायो, हामीलाई क्षतिपूर्ति कसले दिन्छ ? महँगो तेल किनेर खान पर्ने भयो ।”, पदम पङ्गेनीले भन्नुभयो । 

यी किसान त प्रतिनिधि पात्र मात्रै हुन सर्दी क्षेत्रका सबैजसो किसानले लगाएको तोरीमा झुसिल किराको प्रकोप देखिएको स्थानीय अगुवा यादव पौडेलको भनाई छ । कृषि शाखामा सल्लाह गरेर किरा मार्ने विषादी राख्दा पनि किरा नमरेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कूल प्रसाद तिवारीका अनुसार यस वर्ष जिल्लाका विभिन्न ठाउँमा झुसिल किराको प्रकोप देखिएको छ । विशेषगरी तोरी बालीमा झुसिल किराले नोक्सान पुर्याएको गुनासो किसानहरूबाट आएको तिवारीले बताउनुभयो । 

बिनयी त्रिवेणीको सर्दी क्षेत्रमा झुसिल किराको प्रकोप अलि बढी देखिएको छ भने , जिल्लाको समथर भूभागमा पर्ने कावासोती, मध्यविन्दु, गैँडाकोट र देवचुली नगरपालिकामा पनि झुसिल किराको प्रकोप देखिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । 

यस वर्ष हिउँदमा लामो समय खडेरी परेका कारण किराको प्रकोप देखिएको कार्यालय प्रमुख तिवारीको भनाइ छ । कृषि बालीमा विभिन्न प्रकारका रोग किरा देखिनुमा मुख्य कारण जलवायु परिवर्तन रहेको उहाँ बताउनुहुन्छ । यस वर्ष तोरी बाली राम्रो भएको थियो । उत्पादन राम्रो हुने अनुमान गरिएको थियो । तर पाक्ने बेलामा किराले नोक्सान पुर्याएको उहाँले बताउनुभयो । 

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी विश्वास काफ्लेका अनुसार यसपालिको हिउँदे बालीमा झुसिलकिराको प्रकोप देखिएको गुनासो आएपछि ज्ञान केन्द्रबाट अनुगमन समेत गरेर सुरक्षित सुरुमा इमामेक्टिन बेन्जोयट क्लोरोफाइरिफोस र साइपरमेथ्रिन नामक विषादी छर्न सुझाव दिएको छ । किराको प्रकोप अनुसार यस वर्ष तोरी बालीको उत्पादन अनुमानित रुपमा १० प्रतिशतले घट्न सक्ने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button