तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा बिहानै देखि शितलहर, सतर्कता रहन विज्ञको सुझाव

बाँके । बाँके जिल्लाका प्राय सबै स्थानहरूमा आज बुधवार बिहानैदेखि शितलहर चलेको छ । आकाशलाई बिहानैबाट कुहिरोले ढाकेको छ भने घाम लाग्न नसकी आकाशबाट अत्यन्त चिसो शीत खस्न थालेपछि बाँकेमा शितलहर चल्न शुरु गरेको हो । यसरी चिसो बतास हावा चल्ने थालेपछि बाँकेको जनजीवन प्रभावित भएको छ ।

बाँकेमा आजदेखि चलेको शितलहर एक हप्ता भन्दा बढी रहन सक्ने भन्दै मौसमविदहरुले सचेत रहन आग्रह गरेका छन् भने चिकित्सकहरूले न्यानो कपडा लगाउन तथा ताते झोल पदार्थ बेसी सेवन गर्न आग्रह गरेका छन् ।

बिहानदेखि बेलुकीसम्म हप्तौँ वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने भन्दै बाँके प्रशासनले नेपालगञ्जका विभिन्न ठाउँहरूमा डिभिजन वन कार्यालयको समन्वयमा दाउराको प्रयोगबाट सामूहिक ताप्न मिल्ने गरि धुनिको व्यवस्था गरेको छ ।

मङ्गलवार मात्र नेपालगञ्जमा नेपाली सेनाको सहयोगमा उपमहानगरका विभिन्न स्थानमा सामूहिक आगो ताप्न मिल्ने गरि दाउरा बाल्ने व्यवस्था मिलाएको थियो । 

नेपालगञ्जमा सामूहिक धुनिको व्यवस्था भएपनि जिल्लाको दोस्रो नगर कोहलपुरमा भने दाउरा वितरण गर्ने कार्य भएको छैन । नगर प्रहरी प्रमुख वीर बहादुर थापाले भने शीतलहर अलि बढ्दै गए केही दिनमा दाउरा बाँड्ने बताउनुभएको छ। कोहलपुर बजार क्षेत्रका स्थानीय नागरिकहरूले भने नगरले दाउरा बाँडे हुने भन्ने खालका आशय ब्यक्त गर्न थालेका छन् ।

यसैगरि खजुरामा पनि आज बिहानैदेखि शितलहर चलेको सञ्चारकर्मी सुनिल शर्माले बताउनु भएको छ । शीतलहरबाट बच्न खजुरा गाउँपालिकाले पनि नागरिकहरू भेला हुने स्थानमा दाउरा वितरण गर्ने कार्य अझै गरेको छैन । नरैनापुरमा समेत आज शीतलहरले बिहानैदेखि जनजीवन प्रभावित भएको पत्रकार विनय दीक्षितले कोहलपुर जानकारी गराउनु भएको छ । उहाँले पालिकाका बासिन्दालाई सामूहिक आगो ताप्ने व्यवस्थाका लागि पालिका समक्ष अनुरोध गर्नुभएको छ । 

जिल्लाका अन्य पालिकाहरूमा पनि आज शीतलहरको कहरले छोडेको छैन । जिल्लाका राप्ति सोनारी, डुडुवा, बैजनाथ, जानकीमा समेत आज बिहानैदेखि शीतबर्षा हुँदा जनजीवन कष्टकर बन्दै गएको बताइएको छ ।

बाँकेमा शितलहर चलेसँगै दैनिक काममा जाने तथा अन्य सरकारी अड्डा अदालतको काममा जाने नागरिकहरूको भिड कम हुँदै गएको छ भने सडकमा समेत सर्वसाधारणहरूको चहलपहल कम हुँदै गएको छ । सर्वसाधारणहरूको चहलपहलमा कमी भएसँगै कोहलपुर लगायत जिल्लामै ब्यापार व्यवसाय ठप्प प्राय भएका छन् ।

कोहलपुर व्यापारी भरत शर्माका अनुसार यो सिजन प्याज तथा अन्य तरकारी खेती गर्ने सिजन भएपनि किसानहरू बाहिर आउन नसक्दा मल बिउ विजन बिक्री ठप्प रहेको बताउनुभएको छ । नगर बसहरू समेत हिजो अस्तिका तुलनामा कम मात्रामा चलेको भेरी बागेश्वरीका कर्मचारी विकास रानाले बताउनु भएको छ।

शीतलहरले ज्यान नै लिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । ३० डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम भयो भने स्वस्थ मानिसलाई पनि गाह्रो पर्ने डा देवेन्द्र आचार्यले जानकारी दिनुभएको छ । ‘थोरै तापक्रममा जति धेरै बेर मानिस रहन्छ उसलाई समस्या पनि त्यत्तिकै बढ्दै जान्छ,’ आचार्यले भन्नुभयो, ‘तापक्रम कम भएपछि श्वास फेर्न गाह्रो हुन्छ। रक्तसञ्चारमा समस्या हुन्छ। अनि मुटुले समेत काम गर्न छोड्छ।’र मानिसको मृत्यु हुन्छ आचार्य थप्छन् । 

बालबालिका,बुढाबुढी र दीर्घरोगीहरुलाई मात्रै होइन शरीरको तापक्रम कम भयो भने जाडोका कारणले सामान्य मानिसको समेत मृत्यु हुन्छ। फोक्सोको समस्या भएकाहरूलाई चिसोको कारणले फोक्सोको संक्रमण बढ्दै गएर मानिसको मृत्यु हुने उहाँले बताउनु भयो। दिउँसो पनि तात्न नपाएको शरीर राति बाक्लो ओढ्ने नभएपछि झन चिसो हुन्छ। त्यही भएर कतिपयको राति सुतेकै बेला ज्यान जाने गरेको डाक्टर आचार्यको भनाई छ ।

कौशिल्या अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद न्यौपानेका अनुसार चिसोले तराई मधेसमा धेरैको ज्यान जानुका पछाडि गरिबीसँगै चेतनाको कमी पनि भएको बताउँछन्। उहाँले चिसो मौसममा रुघाजन्य फ्लुहरूको संक्रमण अधिक हुने भएकाले विना काम घर बाहरि ननिस्कन या निस्कनै परे न्यानो कपडा लगाएर निस्किन आग्रह गरेका छन् ।

शीतलहरको बेला जति सक्दो ताते तरल पदार्थ सेवनमा ध्यान दिनुपर्ने भन्दै कार्यकारी निर्देशक न्यौपानेले ‘बालबालिका बुढाबुढी र दिर्घरोगीको बढी ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button