रैथाने बालीको महत्व बुझ्दै मुगुका किसान

मुगु । कर्णालीको बिकट हिमाली जिल्ला मुगुमा रैथाने बालीको खेती हराउँदै गइरहेका बेला यहाँ पुनः रैथाने बालीको आवश्यकता र महत्व बुझ्न थालेपछि यसको जगेर्नाका लागि जोड दिन थालिएको छ ।
“विगतका वर्षहरूमा मार्सेलगायत पुराना अन्न बालीहरूको खेती गर्न छोडेका थियौँ । पछिल्लो समयमा महत्व बढ्दै गएपछि मार्सेलगायत फापर, काउनी चिनोलगायतको खेती फेरी गर्न थालेका छौँ ।, छायानाथ रारा नगरपालिका वडा नं ७ का कृषक हरिचन्द्र शाहीले भन्नुभयो ।
“पहिला मार्सेको महत्व नै थाहा थिएन, मार्सेको रोटीले टाउको दुख्छ, रिंगटा लाग्छ, यसैगरी काउनीको भातले पखाला गराउँछ भन्ने गरिन्थ्यो तर सबै कुरा झुट रहेछ, उहाँले भन्नुभयो, “पोषकतत्व बढी भएर धेरै खाँदा नपचेर त्यसो भएको रहेछ अहिले थाहा पायौँ र यसको महत्व बुझ्यौँ ।”

जिल्लामा रहेको छायानाथ रारा नगरपालिका कृषि ज्ञान केन्द्र, नारी उत्थान तथा सचेतना केन्द्रलगायत अन्य विभिन्न संघ संस्थाहरूले समाज र गाउँ बस्तीमा परम्परागत बाली संरक्षणमा सचेतना जगाएपछि जिल्लाका कृषकहरू पुनः परम्परागत बाली संरक्षणमा स्थानीय कृषकहरू लागेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनुभयो ।
२०७९ सालदेखि नै रैथाने बाली संरक्षणमा अभियानकै रूपबाट समुदाय स्तरमा लाग्नुभएका शिक्षिका एवं सामाजिक विकास अभियानता चेतना शाही मल्लले व्यावसायिक कृषि कर्ममा लागेका कृषकहरूलाई यस बर्ष पनि परम्परागत बालीको आवश्यकता र महत्वको विषयमा जनचेतना जगाउने र कृषकहरूलाई आवश्यक पर्ने कृषि सामाग्री बिउ बिजन वितरण तथा कृषि मेलाको आयोजना गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

जिल्लामा उत्पादितभन्दा बाहिरबाट आयतित अर्ग्यानिक विहीन खाद्यान्नहरू बढी प्रयोग हुन थालेपछि यसलाई निरुत्साहित गर्नको लागि स्थानीय महिलाहरूको सामूहिक प्रयासबाट स्थानीय रैथाने बाली संरक्षणमा जोड दिइएको पनि उहाँले बताउनुभयो ।
स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइवर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको रैथाने बालीहरू कोदो, मकै, फापर, सिमी, मास चिनो, कागुनो, मार्से लगायतका बालीमा बढी हुने भएकाले संरक्षणमा जोड दिएको उहाँले बताउनुभयो ।
विगतका दिनहरूमा बाहिरबाट आयतित खानेकुराको बढी प्रयोग भई मानिसहरूमा विभिन्न रोगहरूको सिकार भइरहेको र स्थानीय स्तरमा जिल्लामा उत्पादित अर्ग्यानिक खानेकुरा उपभोग गर्न नारी उत्थान तथा सचेतना केन्द्रको सहयोगमा परम्परागत खेती बाली संरक्षणमा आफूहरू जुटेको स्थानीय महिला कृषकहरूले बताएका छन् ।
स्थानीय बजारमा सिमी, फापर, कोदो, मकै, चिनो, कागुनो, र उवाको माग बढेको छ । रैथाने बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्न सक्ने सम्भावना रहेको देखिन्छ ।

रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनको विभिन्न प्रकारका परिकार बनाई अहिले स्थानीय होटलमा समेत रैथाने बालीको विभिन्न परिकार पाइने गरेको छ ।
रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्नका लागि बजार क्षेत्रमा विभिन्न कोसेली घर सञ्चालन गर्दै आएका छन् । नेपालकै ठुलो पर्यटकीय गन्तव्य रहेको रारा ताल घुम्न आउने आन्तरिक पर्यटकहरूले स्थानीय परिकार रोजाइमा पर्ने भएकाले रैथाने बालीको माग बढ्दै गएको मुगुका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताउनुभयो । रारा घुम्न आएका पर्यटकहरूले स्थानीय खानाका परिकारहरू बढी रुचाउने हुनाले पर्यटकहरूको माग पुर्याउनै मुस्किल हुने उहाँको भनाई छ ।









प्रतिक्रिया राख्नुहोस्