ब्रिटिस सेनालाई पराजय गरेको गढीलाई पर्यटकीयस्थलको रुपमा विकास गरिने

वीरगंज । पर्सागढी नगरपालिकामा आज विजय उत्सव मनाइएको छ । पर्सागढी नगरपालिकाको आयोजना तथा नेपाली सेनाको सहकार्यमा पर्सागढी विजय उत्सव मनाइएको हो ।
वि.सं. १८७१ पुस १९ गते बागवान्नाको स्थानीय बासिन्दा रञ्जित चौधरीको सहयोगमा वीर गोर्खाली सेनाले ब्रिटिस सेनाका कमाण्डर बेनेट मार्लीको टोलीमाथि विभिन्न युद्धकला लगाएर पराजित गरी हराएको ठाउँ भएकोले यसको ऐतिहासिक महत्वलाई जगेर्ना गर्न आजको दिनलाई विजय उत्सवको रुपमा मनाउन थालिएको हो ।
पर्सागढी विजय उत्सव कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री एवं पर्सा क्षेत्र नम्बर २ का सांसद अजय चौरसियाले नेपालको अन्य गढी जस्तै पर्सागढीको महत्त्व र विशेषता महत्वपूर्ण रहेकोले यसको संरक्षण र प्रवद्र्धनमा तिनै तहको सरकार जुटनु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य श्याम पटेलले पर्सागढीलाई पर्यटन प्रबद्र्धनको प्रमुख केन्द्र बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले पर्सागढी हरपुर, जिगना, पचरुखी, बागेश्वरी तित्रौना र बागवन्ना गरी ५ वटा गाउँको धरोहर भएको बताउनुभयो ।
उहाँले १८७१ मा अङ्ग्रेज सेनाहरू पर्सागढीको सीमानामा आएर विश्राम गरी फस्ट जनवरीमा नयाँ वर्ष मनाइरहँदा स्थानीय रञ्जित चौधरीको सहयोगमा नेपाली गोर्खाली सेनासँग मिलेर तिलावे र सिघयाई खोलामा बाधेर ऐतिहासिक रुपमा ब्रिटिस सेनालाई पराजित गरेको स्थान भएको कुरामा जोड दिनुभयो ।
गोर्खाली सेना र गाउँले मिलेर ग्रामीण क्षेत्रमा प्रयोग हुने खुकुरी, भाला लगायतका घरेलु हतियारले ब्रिटिस सेनामाथि विजय प्राप्त गरेको ठाउँ भएकोले आजको दिन पर्सागढीबासीका लागि अत्यन्तै महत्वपूर्ण रहेको पर्सागढी महोत्सव आयोजक समितिका संयोजक वृजमोहन चौधरीले बताउनु भयो
विजय उत्सवको अवसरमा पर्सागढी नगरपालिकाको कार्यालय हरपुरदेखि पर्सागढी मन्दिर स्थलसम्म बाजागाजा सहित नेपाली सेनाको टोलीले झाँकी समेत प्रदर्शन गरेको थियो । सो अवसरमा परम्परागत हतियारहरूको प्रदर्शन तथा थारु, यादव र मधेसी समुदायको भेषभुषा, परम्परा झल्कने गरी झाँकी प्रदर्शन गरिएको थियो ।
विजय उत्सवको अवसरमा आयोजित कार्यक्रममा पर्सागढीका पूर्व नगर प्रमुख लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी, प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, नेपाली सेनाका उपसेनानी सन्देश समान, सशस्त्र प्रहरीका निरीक्षक केशव श्रेष्ठ लगायत स्थानीय बासिन्दाको ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्