तेस्रो लिङ्गीलाई अधिकारका लागि साझा मुद्दामा केन्द्रित बन्न सांसदको आग्रह

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नागरिकता तथा कानुनी अधिकार सम्बन्धमा छलफल गरेको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरुले तेस्रो लिङ्गी समुदायका व्यक्तिहरू पहिचान सहितको नागरिकता र राजनीतिक अधिकारका लागि साझा मुद्दामा केन्द्रित बन्नुपर्ने धारणा राख्नुभयो ।
सांसदहरुले तेस्रो लिङ्गी समुदायका व्यक्तिहरू यौन पेशा गर्न बाध्य भएकाले राज्यले रोजगारीका अन्य क्षेत्रमा उनीहरुलाई आबद्ध गराउनुपर्ने बताउनुभयो ।

संविधान सभा सदस्य तथा ब्लु डायमण्ड सोसाइटीका संस्थापक सुनिल बाबु पन्तले तेस्रो लिङ्गीमाथि विभेद हुँदै आएकाले राज्यका सबै नीति नियममा उनीहरुलाई समेट्नुपर्ने बताउनुभयो ।
छलफलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव निर्मला अधिकारीले तेस्रो लिङ्गीको भावना अनुसार नागरिकता ऐन संशोधन गर्न अहिलेदेखि नै गृहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।
यसैगरी गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले मन्त्रालय तहदेखि जिल्लाहरूमा नागरिकता वितरण लगायतका विषय सहज बनाउन कर्मचारीलाई तालिम र अभिमुखीकरण दिँदै आएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्