तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरको दिङ्लामा प्रदेश स्तरीय भलिबल हुँदै

भोजपुर  । प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता पहाडी जिल्ला भोजपुरमा सञ्चालन हुने भएको छ । 

जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा कोशी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । 

जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरूले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना भएको  जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो  । 

प्रतियोगितामा प्रदेशभरिका एक सय ३७ वटा पालिकाहरूले सहभागिता जनाउन पाउने छन् । 

प्रतियोगितामा विजेता हुने टिमले एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेता हुने टिमले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । 

यस्तै प्रतियोगितामा तेस्रो हुने टिमले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता अन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीहरूले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद बिकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बताउनुभयो । 

आगामी माघ २४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाको खेलकुद पर्यटनमा समेत सहयोग पुग्ने छ । “सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश” भन्ने मुल नाराका साथ हुने प्रतियोगितामा कोशी प्रदेश भरिका पालिकाहरूले नगद २५ सय तिरेर टिम दर्ता गर्न पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेर्पाले बताउनुभयो । 

भलिबलका उत्कृष्ट खेलाडीहरू उत्पादन गरेको भोजपुरमा पछिल्लो समयमा कम हँुदै गएको प्रतियोगिताले खेलाडीहरूमा उत्साह समेत हराएकाले प्रदेश स्तरीय प्रतियोगिता नै आयोजना गर्नुपर्ने आवश्यकता भएको समितिका अध्यक्ष शेर्पाको भनाई छ । “खेलकुद क्षेत्रको विकासका लागि समितिले काम गरि रहेको छ, खेलकुद क्षेत्रका लागि परिचित जिल्लाका रुपमा भोजपुरलाई चिनाउने गरी काम गर्नेछौँ ।” अध्यक्ष शेर्पाले भन्नुभयो । 

राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारालाई पूर्ण सार्थकता दिनको लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद बिकास कार्यालयका सचिव शेर्पाले बताउनुभयो । खेल बिना मानिस अधुरो हुन्छ भने खेलले स्वास्थ्यलाई सुधार्ने काम गर्छ र मानिस पुर्णरुपमा स्वास्थ्य हुन्छ भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौँ, सचिव शेर्पाले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button