तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयको स्वर्ण महोत्सवमा ४७ लाख जुट्यो

नवलपरासी,पश्चिम् । २०२७ सालमा स्थापना भएको नवलपरासीको बर्दघाट नगरपालिका भूताहास्थित राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयले ५० औ वर्ष पार गरेको अवसरमा स्वर्ण जयन्ती मनाइरहेको छ ।

महोत्सवमा लाग्ने खर्च अन्तर्गत सबैभन्दा बढी विद्यालयमा अध्ययन गरेर सरकारी सेवामा पुगेका उच्च पदस्थ तथा विभिन्न पेसामा संलग्न पूर्वविद्यार्थीले १५ लाख बढी सहयोग उपलब्ध गराएका छन्। विद्यालयमा अध्ययन गरी अहिले विभिन्न स्थानमा रहेका विद्यार्थीहरूले स्वतःस्फूर्त रुपमा १५ लाख ८६ हजार पठाएको स्वर्ण महोत्सव मूल समिति संयोजक एवम् संविधान सभा सदस्य विक्रम खनालले जानकारी दिनुभयो । पूर्वविद्यार्थीहरूसँगै अन्य सङ्घ संस्था र सहयोगीदाताहरूबाट सहयोग रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक आर्थिक संयोजक बालिन्द्र विक्रम शाहीले बताउनु भयो ।

जसमध्ये बर्दघाट नगरपालिकाबाट १० लाख, चार वटा वडा कार्यालयबाट ६ लाख ५० हजार, विभिन्न सङ्घ संस्थाबाट ४ लाख १३ हजार, धन धान्यान्चल महायज्ञबाट उठ्न बाँकी रहेकोमध्ये ४ लाख ५५ हजार, विद्यालयका शिक्षकहरूबाट ४ लाख २५ हजार र अन्य सहयोगीदाताबाट १ लाख ९४ हजार गरी कुल ४७ लाख २३ हजार रुपैयाँ सङ्कलन भएको संयोजक खनालले जानकारी दिनुभयो। जयन्ती मनाउन करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।विद्यालय प्राङ्गणमा सहयोगी दाताको नामावली सहितको स्वर्ण स्तम्भ समेत बनाइएको छ ।

स्वर्ण महोत्सवको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नु भएको हो ।भौतिक सम्रचना मात्र नभै शैक्षिक गुणस्तर उकास्न अभिभावक र सरोकारवाला समेत जागरूक हुनु पर्ने नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

पुस १५ गतेदेखि सुरु भएको स्वर्ण जयन्ती कार्यक्रम २१ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइँदै छ।महोत्सवमा सहभागीहरूले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न विद्यालय मात्रै नभएर सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिएका छन्।महोत्सवमा यहाँका जनप्रतिनिधि,पुर्वमन्त्री लगायतको सहभागितामा दैनिक कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button