तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम राष्ट्रिय दरै फुटबल प्रतियोगिता तनहुँमा

तनहुँ । पहिलोपटक देशव्यापी दरै (दराई) समुदायको फुटबल प्रतियोगिता तनहुँमा आयोजना गरिएको छ । अल्पसङ्ख्यक दरै समुदायलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल दरै समाज तनहुँको आयोजनामा प्रथम राष्ट्रिय दरै सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता तनहुँमा हुने भएको हो ।

आगामी माघ १५ गतेदेखि तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिका खुला मैदानमा प्रतियोगिता हुनेछ । पिछडिएका दरै जातिका खेलाडीलाई प्रोत्साहन गर्ने, देशव्यापी दरै युवाबिच एकापसमा परिचित, सद्भाव र पारस्परिक मित्रभाव जगाउने, दुर्व्यसनी लागुऔषध, विसङ्गति विकृति फैलिनबाट जोगाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष ठाकुरबहादुर दरैले जानकारी दिनुभयो ।

उहाँका अनुसार दरै समुदायलाई खेलसम्बन्धी सचेतना गराउनाका साथै खेलकुदमार्फत समुदायको प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ । तनहुँ, चितवन, नवलपुर, गोर्खा, धादिङ दरै जातिको बाक्लो बसोबास रहेको छ । उहाँले भन्नुभयो, “नितान्त दरै समुदायका खेलाडीको मात्रै प्रतियोगितामा सहभागिता रहनेछ, यसले सबै स्थानका दरै समुदायबिचको एकता कायम गर्न मद्दत मिल्ने अपेक्षा गरेका छौँ ।” प्रतियोगितामा सहभागिताका लागि ३२ गाउँका दरैलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

देशभरबाट २० समूह सहभागी गराउने लक्ष्य राखिएको समाजका सचिव विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार बाक्लो बस्ती रहेका स्थानका भने बढी समूह सहभागी गराइनेछ । प्रथम पुरस्कार रु एक लाख एक हजार एक सय ११ र द्वितीय पुरस्कार रु ५१ हजार एक सय ११, मेडल र प्रमाणपत्र प्रदान गरिने समाजका कोषाध्यक्ष आशा दरैले जानकारी दिनुभयो ।

त्यस्तै उत्कृष्ट खेलाडीलाई रु दुई हजार, उत्कृष्ट गोल रक्षकलाई रु एक हजार पाँच सय र सर्वाधिक गोलकर्तालाई रु एक हजार पाँच सय, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

विसं २०७८ को जनगणनाअनुसार देशभरमा दरै जातिको कूल सङ्ख्या २० हजार रहेका तथ्याङ्कमा उल्लेख छ । प्रतियोगिता सम्पन्न गर्न रु १० लाख ८३ हजार सात सय २२ लाग्ने अनुमान गरिएको समाजले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न सङ्घसंस्था, व्यक्ति, स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोगको अपेक्षा गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button