तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी गाउँपालिकाका  बृद्धबृद्धालाई न्यानो कपडा वितरण 

जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लासहित मुगु,डोल्पा हुम्लाको जनजीवन यतिबेला चिसोले प्रभावित भएको छ ।  बृद्धबृद्धाहरु,बालबालिकाहरू बिहान बेलुकाको समयमा चिसोले घर बाहिर निस्कन सक्ने अवस्था समेत छैन । पुष महिनाको कठ्याङ्ग्रिँदो चिसोबाट प्रभावित विपन्न नागरिक,बृद्धबृद्धाको समस्यालाई मध्यनजर गर्दै जुम्लाको तातोपानी गाउँपालिकाले न्यानो कम्बलदेखि कपडा वितरण गरेको छ । 

बढ्दो चिसोलाई मध्यनजर गर्दै दुई वडाका दुई सय ४० जना बृद्धबृद्धा लाई न्यानो कपडा वितरण गरिएको गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो । उहाँका अनुसार वडा नंं ६ का १७० र वडा नं. ५ का १७० गरी २ सय ४० जना विपन्नलाई बढ्दो चिसोको मध्यनजर गर्दै न्यानो कपडा बाँडिएको हो ।

युवा वयस्कहरू नै चिसोले प्रभावित भइरहेको बेला बृद्धबृद्धा,एकल महिला अपाङ्ग भएका व्यक्तिहरूको अवस्था कस्तो होला ? भन्ने सहजै अनुमान गर्न सकिन्छ । त्यसैमाथि विपन्न समुदायको त विचल्लीनै भएको छ ।  

उमेर छिपिँदै जाँदा सहाराको खोजी  गर्ने,न्यानो र सम्मानको अपेक्षा गर्ने बृद्धबृद्धाको मनसायलाई बुझ्दै तातोपानी गाउँपालिकाले ग्याँस चुलो,कम्बल,स्विटरदेखि ज्याकेट वितरण गरेको हो ।  

बुधबार तातोपानी गाउँपालिका वडा नं.५ भित्रका एक सय ७० जना विपन्न नागरिकलाई स्विटर र ज्याकेट वितरण गरेको वडाध्यक्ष छिरिङ महतले बताउनुभयो । उहाँका अनुसार एक सय ७० जनालाई ३ लाख बराबरको न्यानो कपडा बाँडिएको हो । 

न्यानो कपडा पाएसँगै चिसोबाट प्रभावित बृद्धबृद्धा खुसी भएका छन् । वडा पालिका भएदेखि बेलाबेला दिइने यस्तै राहतले विपन्न र निमुखाहरूका लागि पनि सरकार छ भन्ने अनुभूति भएको वृद्ध फाँचु दमाई बताउनुहुन्छ ।  उहाँले भन्नुभयो,“न्यानो कपडा पाए खुसी छु । कसरी चिसो कटाउने भन्ने चिन्ता थियो अब ढुक्क भइयो । कोरोना बेला चामल नुन तेल दिया । त्यस्तै कहिले कम्बल,कहिले ज्याकेट दिन्छन् । हामी जेथा कोही नहुन्या वडा पालिका छ भन्ने आशा लाग्दो छ ।”

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले सीमित स्रोतका बीच पनि सबै क्षेत्रको आवश्यकता पहिचान गरी काम गर्दै आएको बताउनुभयो । लक्षित वर्ग पालिकाको विशेष प्रथामिकतामा रहेको उहाँको भनाई छ । 

यसैबीच तातोपानी गाउँपालिका वडा नं.६ ले पनि मङ्गलवार वडा भित्रका एक सय ७० जना विपन्न नागरिकलाई न्यानो कम्बल बाडेको छ । वडाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत जेष्ठनागरिक, एकल महिला, गरिब, विपन्न, अपाङ्गता भएका व्यक्ति एक सय ७० जनालाई न्यानो कम्बल वितरण गरिएको वडाध्यक्ष विशाल खड्काले बताउनुभयो । 

लक्षित वर्ग कार्यक्रममा तीन लाख बजेट विनियोजित गरिएकोमा सोही बजेटबाट वडाका एकसय ७० जना विपन्नलाई कम्बल वितरण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । गत साता तातोपानी वडा नं. २ ले चार जना विपन्नलाई ग्याँस चुलो दिएको थियो ।

चिसो बढ्दै गएको बेला न्यानो कम्बल पाएपछि राहत महसुस भएको तातोपानी –६ का ज्येष्ठ नागरिक काले विष्टले बताउनुभयो । थोरै भएपनि कम्बल,ज्याकेट जस्ता राहतले पुष माघको चिसोमा ठुलो राहत गर्ने उहाँहरूको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button