मुलुकका पर्यटकीय स्थलको विश्व बजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड
बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ ।”

बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सातौँ बागलुङ महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्याप्त भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याएर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा अघि बढाउन आह्वान गर्दै झोलुङ्गे पुल र बुट्टेनलीको जिल्लाका रुपमा रहेको बागलुङका पहिचानलाई व्यापक प्रचारप्रसार गरेर आम्दानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिको उर्वर भूमिका रुपमा रहेको बागलुङ आउँदा आफूलाई आफ्नै घर आएजस्तो भयो, २०४६ सालमा आन्दोलनका क्रममा चार महिना यहाँ जेलजीवन बिताएको ताजा भयो ।” उहाँले जेलमा बसेका बागलुङका राजनीतिक व्यक्तिहरूलाई स्मरण गर्नुभएको थियो ।
राजनीतिक चेतनाको उर्वर भूमि मात्र होइन धौलागिरि हिमशृङ्खला सहितका प्राकृतिक छटाले सुसज्जित बागलुङ वरपरका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासका लागि महोत्सव आयोजना गरिएकामा राष्ट्रपतिले त्यसको सराहना गर्नुभयो । सबैभन्दा धेरै विप्रेषण भित्र्याउने जिल्लाका रुपमा बागलुङले परिचय बनाएको तथा निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व जन्माएको यो जिल्लाप्रति गर्व लागेको बताउनुभयो ।
बागलुङको भौगोलिक विविधता र विकटतालाई पृथक् र नवीन पर्यटकीय थलोका रुपमा विकास गरी नयाँ पुस्तालाई यस क्षेत्रको भ्रमणको लागि प्रेरित गर्नु आजको आवश्यकता भएको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले ढोरपाटन पर्यटन र शिकारका लागि प्रख्यात क्षेत्र भए पनि धेरै पर्यटक आकर्षित गर्न नसकेको भन्दै यसको प्रचारप्रसारमा विशेष ध्यान दिन सुझाउनुभयो ।
बागलुङका कृषि उपज र जडीबुटीलाई प्रदेश सरकारले प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै यिनको विकासमा उद्योगी– व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने राष्ट्रपतिले बताउनुभयो । महोत्सवका माध्यमबाट जडीबुटीको प्रवद्र्धनमा योगदान पुगेको विश्वास उहाँले व्यक्त गर्नुभयो ।
महोत्सवमा पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको विकासका लागि सबै सांसद एकजुट हुन आवश्यक छ भन्नुभयो । उहाँले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको काममा भइरहेको ढिलाइप्रति जनता आक्रोशित भएका बताउँदै सरकारले आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, सांसद देवीप्रकाश भट्टचन र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
महोत्सव २१ गतेसम्म चल्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्