तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशलाई माछा पर्यटनको रुपमा विकास गर्न माग

जनकपुरधाम । नेपालमा उत्पादन भएको माछामध्ये मधेश प्रदेशमा ५० प्रतिशत माछाको उत्पादन भए पनि व्यवस्थित बजारीकरण नभएको गुनासो व्यवसायीहरूले गर्नुभएको छ ।

नेपालमा हाल वार्षिक रुपमा उत्पादन हुने गरेको १ लाख ४ हजार मेट्रिक टन माछामध्ये मधेश प्रदेशमा मात्र ५३ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । माछाको उत्पादन बढे पनि किसानहरुले लागत अनुसारको मूल्य नपाएको गुनासो व्यवसायीहरूको छ ।

जनकपुरधाममा आजदेखि शुरु भएको नेपाल फिसरिज टेक्निकल एशोसिएशनको राष्ट्रिय अधिवेशनमा माछा व्यवसायी संघका अध्यक्ष जङ्गबहादुर साहले मधेश प्रदेशलाई माछा पर्यटनका रुपमा विकास गर्न तीनै तहका सरकारसँग माग गर्नुभयो ।

उहाँले देशभरि नै जिउँदो माछाको माग बढेको र व्यवसायीक रूप ग्रहण गरेकोमा खुशी व्यक्त गर्दै पानीमा भएका अन्य जलचर जीवहरूको संरक्षणमा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका कार्यालय प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत युगल किशोर तिवारीले मधेश प्रदेशमा नेपालको कूल उत्पादनको ६० प्रतिशत माछा उत्पादन भएपनि प्रदेशका कुनै पनि जिल्लामा मत्स्य विकास अधिकृत नहुनु चिन्ताको विषय भएको बताउनुभयो ।

दुई दिने राष्ट्रिय सम्मेलनमा नेपालको मत्स्य विकास तथा अनुसन्धानको कार्यमा संलग्न रहनु भएका विज्ञहरू, प्रविधिकहरु, व्यवसायीहरू माछाको उत्पादन तथा बजारीकरणको काममा सक्रिय रहनुभएका अगुवा किसानहरूको सहभागिता रहेको छ । कार्यक्रममा माछाको विकास तथा अनुसन्धान एवं उत्पादनमा सक्रिय रहनु भएकाहरूलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button