तपाईँ सुन्दै हुनुहुन्छः

दशैं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुन्छ : मन्त्री लिम्बु 

पोखरा । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले दशैं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने बताउनु भएको छ । मङ्गलवार पोखराका खेल पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लिम्बुले राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ निर्धारित मितिमै हुने गरी तयारी गरेको दाबी गर्दै तोकिएको मितिमै हुने बताउनु भएको हो । 

केही समय अघि कर्णालीको सुर्खेतमा निर्माण हुँदै गरेको खेलकुदको भौतिक संरचनाको अध्ययन अवलोकन गरेर फर्किएको बताउँदै मन्त्री लिम्बुले आफूले सबै क्षेत्रलाई सकारात्मक भएर तोकिएको मिति २०८१ सालको मङ्सिर २ देखि ९ गतेसम्म हुने गरी तयारी गर्न निर्देशन दिएको जनाउनु भयो । कर्णाली प्रदेशबाट उक्त प्रतियोगिताको लागि  १ अर्ब ४८ करोडको प्रस्तावित भौतिक संरचना निर्माणको लागि डकुमेन्ट मन्त्रालयमा आएको उल्लेख गर्नु भयो । सरकारले निर्माण गर्ने कुनै पनि भौतिक संरचनाको विषयमा जग्गा विवाद रहित र सरकारको स्वामित्व भएको खण्डमा मात्र राज्यले खेलकुदका भौतिक संरचना बनाउने भएको उहाँको भनाई थियो । 

सरकारले खेलकुदमा लाग्ने खेलाडी र खेल सङ्घहरूलाई अब वर्गीकरण गर्ने भएको उहाँले बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई उहाँहरूको योगदानको आधारमा बिमा तथा सेवा सुविधा उपलब्ध गराउने गरी गृहकार्य गर्दै गरेको बताउँदै मन्त्री लिम्बुले खेलकुद प्रतियोगिता गर्ने र खेलाडी उत्पादनमा योगदान पुराएका र झोले खेल सङ्घहरूको समेत वर्गीकरण गरेर प्रोत्साहन र संघ खारेजसम्म गर्ने चेतावनी दिनुभयो । 

१८ देखि ४० वर्षका युवा खेलाडीहरूलाई आफै केही गर्न चाहेमा एवं स्वरोजगार बन्न चाहेमा मन्त्रालयले युवा स्वरोजगार कोषबाट ५ लाखसम्म सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको बताउनु भयो । राखेपका सदस्य राजेश गुरुङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद महासङ्घका अध्यक्ष देवेन्द्र केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ लगायतले रंगशाला भित्र धेरै बेथिति भएकोले त्यसको समाधान गर्न आवश्यक भएकोमा जोड दिनु भएको थियो । ४ सय १७ रोपनी क्षेत्रमा फैलिएको पोखरा रङ्गशालामा निर्माण भएका धेरै भौतिक संरचना र विभिन्न खेल सङ्घसँग रहेका स्वामित्व तथा खेल मैदान तथा कभर्ड हल भाडाको विषयमा स्थानीय, प्रदेश र संघ सरकारको के कति क्षेत्र अधिकार प्रष्ट हुनु पर्ने खेलकुदकर्मीले माग गर्नु भएको थियो । 

पोखरा रंगशाला भित्रको विवादको विषयमा आन्तरिक रुपमा स्थानीय र प्रदेशका सरोकारवालाहरू बिच बसेर सुल्झाउन आग्रह गर्नु भयो । राज्यले लटका भरमा विना अध्ययन अनुसन्धान बिना खेलकुद क्षेत्रमा गरेको अबौं रुपैयाँ बालुवामा पानी हाले सरह भएको मन्त्री लिम्बुको दाबी थियो । 

यसैबिच मन्त्री लिम्बुले मङ्गलवार पोखरा रंगशालाको अवलोकन सहित केही खेलकुद प्रतियोगिताको उद्घाटन समेत गर्नु भएको छ । मङ्गलवारदेखि पोखरामा सुरु भएको २० औँ संस्करणको माछापुच्छ्रे पोखरा खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लिम्बुले पोखरामा टेनिस खेलको थप भौतिक संरचना निर्माणमा आवश्यक सहयोग गर्ने वचन दिनु भयो । त्यसै गरी कास्की जिल्ला स्तरीय क्रिकेट छनौट प्रतियोगिताको ब्याटिङ गरी उद्घाटन गर्दै पोखरा खेलकुद र पर्यटनको अथाह सम्भावना भएको दाबी गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button