सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव : मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा आज मङ्गलवारदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्ने जनाइएको छ । महोत्सव सुरु हुनुपूर्व सौराहामा बिहान शोभायात्रा निकालिने छ ।
चितवन हात्ती महोत्सवमा सञ्चालन गरिँदै आएको गतिविधिलाई रूपान्तरण गर्दै यहाँका व्यवसायीहरूले पर्यटन महोत्सव आयोजना गरेका हुन् । पर्यटन विकासका लागि पुस १० गतेदेखि १४ गतेसम्म मैनाहा चौरमा सो महोत्सव गर्न लागिएको हो । चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औँ संस्करण सुरु गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिनुभयो । यस वर्षको पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता रहेको उहाँले बताउनुभयो । महोत्सवलाई आकर्षक बनाउन यहाँका व्यवसायीहरूले चित्रसारी पुलदेखि नै सौराहालाई सजाएका छन् । महोत्सव स्थललाई ध्वजापताकाले सजाइएको छ ।
कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन । २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको संघका अध्यक्ष गिरीले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । तीमध्ये एक लाख ३० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ ।
इतिहासमै पहिलोपटक कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरूले पर्यटन गतिविधि सुरु गरेका हुन् । साबिकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सवअन्तर्गत हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गा दौड प्रतियोगितालाई यथावत् राखिएको छ ।
महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तर्क्रिया कार्यक्रम राखिएको छ । खस्किएको चितवनको पर्यटनलाई माथि उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिनुभयो ।
महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरूसँग बिटुबी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला–संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताउनु भयो ।
महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासमा योगदान दिएका अग्रज, उत्कृष्ट नेचर गाइड, संरक्षणकर्मी, माउते, डुङ्गा चालक, जिप सफारी चालक तथा सीप र कलाप्रेमीहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह–आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रवद्र्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्