तपाईँ सुन्दै हुनुहुन्छः

मर्स्याङ्दी कोरिडोरमा सम्भाव्यताको अध्ययन गरिँदै

डुम्रे (तनहुँ) । मर्स्याङ्दी नदी कोरिडोरअन्तर्गतका स्थानीय तहले समग्र कोरिडोर क्षेत्रको पर्यटन प्रवद्र्धन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गर्ने भएका छन् । 

तनहुँको बन्दीपुरमा आइतबार बसेको अन्तरपालिका समन्वय बैठकबाट कोरिडोर क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्ने गरी औद्योगिक ग्राम बनाउने लक्ष्यका साथ अध्ययन गरिने भएको हो । 

गण्डकी प्रदेशले एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएअनुरूप यस कोरिडोरमा सम्भाव्यता भएका पर्यटकीयस्थल प्रशस्त रहेकाले पहिचान र अध्ययनका लागि अन्तरपालिका अध्ययन उपसमिति गठन गरिएको भानु नगरपालिकाका प्रमुख एवं मर्स्याङ्दी नदी करिडोर समन्वय समितिका संयोजक आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरिडोरका पालिकामा पर्ने पर्यटकीय स्थानको अध्ययन गरी एक अर्को पालिकासँग समन्वय र प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । 

त्रिपाठीले भन्नुभयो, “एक पालिका एक उद्योग बनाउने सरकारको लक्ष्य एउटै पालिकामा खर्च गर्दाभन्दा समग्र उद्योग सञ्चालन हुँदा सहज र ठूलो उद्योग स्थापना गर्न सकिन्छ । कोरिडोरभित्रका पालिकासँग समन्वय गरी एक ठाउँमा ठुलै उद्योग सञ्चालन गर्नुपर्छ । साथै पर्यटन प्रवद्र्धनलाई आयआर्जनसँग जोड्न आवश्यक छ । त्यसैले यहाँका प्राकृतिक सुन्दरतालाई आम्दानीसँग जोड्ने हाम्रो लक्ष्य हो ।” अहिले पालिकाबाट निस्कने फोहरमैला व्यवस्थापन व्यापक समस्या बनेको भन्दै उहाँले अहिले पालिकाअनुसार नै फोहरमैला विर्सजन भइरहेको जानकारी दिनुभयो ।

फोहरमैलाको उचित ढङ्गबाट विर्सजन नभएमा दीर्घकालका निम्ति सुरक्षित र वायुमण्डललाई असर गर्ने भएकाले समयमै यसतर्फ सबै सचेत हुनुपर्नेमा त्रिपाठीले जोड दिनुभयो । “अहिले त सिसाजन्य फोहरमैला वृद्धि हुँदै गएको छ । यसकारण यसको दीर्घकालीन व्यवस्थापन आवश्यक छ”, उहाँले भन्नुभयो, “कोरिडोरका स्थानीय तहभित्र सिसाजन्य फोहर मैलालाई दुई वा दुईभन्दा बढी पालिकालाई पायक पर्ने उपयुक्त स्थान छनोट गरी लगानी साझेदारीको माध्यमबाट व्यवस्थापन गर्ने निर्णय भएको छ ।”

साथै यस कोरिडोरअन्तर्गतका पालिकामा ठूला टार प्रशस्त छन् । टार बाझिने अवस्था बढ्दै गएकाले यी टारको उपयोग हुने गरी कृषि क्षेत्रमा लगानी बढाएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा समेत छलफल भइरहेको संयोजक त्रिपाठीले बताउनुभयो । 

लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा राईनास नगरपालिकाका प्रमुख  खड्कबहादुर गुरुङ र तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा सदस्य रहने गरी मर्स्याङ्दी कोरिडोर पर्यटन उपसमिति गठन गरिएको छ । 

मर्स्याङ्दी नदी कोरिडोर समन्वय समितिमा हाल तनहुँको भानु नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका, लमजुङको बेँशीसहर, सुन्दर बजार र राइनास नगरपालिका तथा दोर्दी गाउँपालिका र गोरखाको पालुङटार नगरपालिका समावेश छन् । मर्स्याङ्दी नदी कोरिडोरअन्तर्गत पर्ने लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई समावेश गर्नुका साथै यस कोरिडोरमा पर्ने अन्य पालिकासँग पनि आगामी दिनमा समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।

कोरिडोरअन्तर्गतका स्थानीय तहबीच तीन÷तीन महिनामा संयुक्त बैठक बस्नेछ । आगामी बैठक फागुन १२ गते बेँशीसहर नगरपालिकामा बस्ने निर्णय भएको समितिले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button