जुम्लाको हवाई टिकट पारदर्शी बनाउन सरोकारवालाको चासो

जुम्ला । जुम्लाको हवाई टिकट वितरणलाई पारदर्शी बनाउन सरोकारवालाले चासो व्यक्त गरेका छन् । हवाई टिकट वितरणमा मनपरी भएको भन्ने गुनासो आएपछि हवाई टिकट वितरण पद्धति सुधार गर्नुपर्नेमा सरोकारवालाले चासो व्यक्त गरेको हुन् ।
आइतबार आयोजित छलफलबाट जुम्लामा उडान गर्ने एयरलाइन्सहरूको टिकट वितरणलाई पारदर्शी गर्ने निर्णय गरेको छ । जुम्लामा (समिट, सिता, तारा र नेपाल एयरलाइन्स) ले जुम्लामा उडान गर्दै आएका छन् । यी सबै एयरलाइन्सहरूको टिकट वितरण पारदर्शी नभएको गुनासो छ ।
जुम्ला विमानस्थलमा सञ्चालित सबै वायुसेवा कम्पनीहरूले आ–आफ्नो (जीएसए) सँग सहकार्य गरी एयरपोर्ट बाहिर कार्यालय खोल्ने, डायरीमा नाम लेख्ने व्यवस्था मिलाई पारदर्शी रूपमा टिकट वितरण गर्ने निर्णय भएको छ ।
सबै वायुसेवा कम्पनीहरूले बिहान १० देखि आ–आफ्नो उडान नसकेसम्म कार्यालय सञ्चालन गर्ने र भोलि हुने उडानको टिकट एक दिन अगाडिनै वितरण गर्नुपर्ने निर्णय गरिएको छ । त्यस्तै १८ सिटे वायुसेवा कम्पनीहरूले १० सिट आ–आफ्नो कार्यालयबाट र सिता एयरको हकमा (७ सिट ) बाँड्ने र बाँकी रहेको सिट बिरामी, असक्त, सुरक्षाकर्मी, र अन्य इमर्जेन्सी काम परेका व्यक्तिका लागि व्यवस्था गर्ने निर्णय गर्ने निर्णय भएको जुम्ला विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“टिकटलाई पारदर्शी बनाउन गरिएका निर्णय कार्यान्वयनमा सबैले जोड दिएमा केही सुधार होला । सर्वसाधारणले टिकट पाउँलान । तर नियमित उडान गर्ने कुरा हाम्रो लेबलबाट सम्भव छैन ।”
साथै बिरामी, अशक्त, जटिल काम परेका मान्छे नछुटुन् भन्नका लागि सुरक्षाकर्मी, सरकारी र बिरामी सिटमा जाने यात्रुको ए देखि सी सम्म वर्गीकरण गर्ने निर्णय भएको छ । वर्गीकरण गर्दा पहिलो प्राथमिकता (ए)मा बिरामी, दोस्रो (बी)मा सरकारी र तेस्रो (सी)मा सुरक्षाकर्मीलाई सिट छुटाउनु पर्ने छ ।
सिता एयरले ४ सिट बाहेक अन्य एयरलाइन्सले ६ सिट वर्गीकरण गरेर बाँड्ने छ । सरकारी कर्मचारी, सुरक्षाका लागि छुट्ट्याइएका सिटमा प्रायः सर्वसाधारण नै उड्न पाउने छन् । तर अत्यावश्यक काम परेको बेला भने छुटाइएको सिट सुरक्षाकर्मी, सरकारी कर्मचारीले नै प्रयोग गर्नेछन् ।
टिकट वितरण सधैँ नागरिकमैत्री नै भएको दाबी गर्दै टिकट वितरण, भनेजस्तो गर्न सजिलो नभएको एयरलाइन्स कम्पनीहरूले बताएका छन् । नागरिकले आफु टिकट पाउँदा चुप लाग्ने र नपाउने बित्तिकै गुनासो गर्ने प्रवृत्ति बढेकोले व्यवस्थापनमा सकस रहेको समिट एयरका गोविन्द भण्डारीले बताउनुभयो ।
अघिपछि आवश्यक पर्दा त परै जावस जटिल काम होस या बिरामी पर्दा र अस्पतालले रेफर गरिसक्दा पनि सर्वसाधारणले सहजै हवाई टिकट नपाउने समस्या जुम्ला विमानस्थलमा वर्षौँदेखि छ ।
जुम्लाको हवाई सेवा पहुँचमुखी मात्रै भएको, सर्वसाधारणले सहजै टिकट नपाएको,ठुलाबडाको फोनमै टिकट फिक्स हुने, टिकट वितरणमा पारदर्शी नहुने समस्या वर्षौँदेखि हालसम्म विद्यमान छन् । जसले गर्दा जुम्लामा हवाई सेवा पहुँच मात्रै भएको र सर्वसाधारणले सधैँ सास्ती पाएको स्पष्ट हुन्छ ।
जुम्लाको हवाई सेवालाई सहज र नागरिक मैत्री बनाउन पटक पटक छलफल निर्णय नभएका होइनन् । तर हवाई टिकट वितरण गर्ने व्यक्तिहरूको मनपरीले गर्दा नत निर्णय कार्यान्वयन हुन सक्यो । नत नागरिकले सहज हवाई सेवा पाए । सुधार नहुनुको सट्टा गुनासो बढ्दै जाने र टिकट वितरणमा पनि मनपरी चुलिँदै जाने समस्या हाल सम्म छ ।
भूगोलका हिसाबले जुम्ला विमानस्थल कर्णाली प्रदेशकै व्यस्त र यात्रुको बढी चाप हुने विमानस्थलमा पर्छ । समिट,सिता,तारा र नेपाल एयरलाइन्सले जुम्लामा उडान गर्छन् । तर समिट एयर बाहेक अन्य जहाजको नियमित उडान छैन । फाटफुट हुने उडानमै नागरिकले सास्ती पाउँदै आएका छन् ।
हवाई सेवा सुधारबारे जुम्लामा विमानस्थलमा आइतबार आयोजित सरोकारवालाको छलफलले टिकट वितरणलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिएका । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथका मेयर राजुसिंह कठायत, नागरिक अगुवा राज बहादुर महतले टिकट वितरणमै अनियमितता र ब्रमलुट भइरहेकोले तत्काल सुधार गर्नुपर्ने र अटेरी गर्ने एयरलाइन्सहरूलाई जुम्ला उडानमै रोक लगाउनु पर्ने आक्रोश पोख्नुभयो ।
समन्वय प्रमुख आर्चायले भन्नुभयो,“पहिलो दिन टिकट लिन जाँदा भोली जहाज आउने टुङ्गो छैन भन्छन् । भोली गयो हिजो नै टिकट सबै गइसक्यो । जहाज प्याक भयो भनेर टार्छन् । यसरी टिकटमा मनपरी गर्छन् । यो त सरासर अनियमितता हो । यस्ता प्रवृत्तिलाई रोक्नुपर्छ ।”
साथै सबै एयरलाइन्सका टिकट काउन्टर बाहिर हुनुपर्ने,सरकारी सिट छुटाएर,आम नागरिकलाई लाइनमै टिकट दिनुपर्ने र अटेरी गर्ने एयरलाइन्सको उडानमै रोक लगाउनु पर्नेमा जिसस प्रमुख आर्चायले जोड दिनुभयो ।
मेयर राजुसिंह कठायतले काउन्टर बाहिर नखोल्ने,टिकट वितरणमा बह्रमुट मच्चाउन अब नपाइने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो,“अनलाइन टिकट वितरणका नाममा समेत एयरलाइन्सहरूले नागरिकलाई सास्तीमात्रै दिएका छन् । सुधारको बहस र निर्णय पटक पटक भएपनि कार्यान्वयन हुन सकेको छैन । अब सबै सच्चिनुपर्छ ।”
नागरिक अगुवा राज बहादुर महतले अघिपछि सडक यातायात प्रयोग गर्ने सर्वसाधारणले दुःखी बिरामी हुँदा मात्रै हवाई सेवा खोज्दा समेत सहजै टिकट नपाउने प्रवृत्तिले कायम रहेको बताए । उनले भने,“टिकट वितरणमा मनपरी त छदैछ । यसलाई रोक्न प्रभावकारी बनाउन समेत प्रशासनले चासो दिएन । नाम मात्रको अनलाइन सेवा छ । सर्वसाधारणले कहिले प्रयोग गर्न पाउँदैनन् । अब अति भयो । हवाई क्षेत्रको मनपरी रोक्नु पर्छ ।”
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बाहिर काउन्टर राख्नुपर्ने लाइन लगाएर टिकट वितरण गर्ने र छुट्ट्याइएको सिटमा प्राथमिकिकरण गरेर मात्रै टिकट वितरण गर्नुपर्ने सुझाव दिनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्