सबै मिलेर वर्तमान व्यवस्थालाई सफल बनाऊ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिको बेदाग पात्र भएको बताउनुभएको छ ।
नेपाली काँग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले नेपाली राजनीतिमा भट्टराई निष्ठा र त्यागको प्रतिमूर्ति भएको बताउनुभयो ।
सभापति देउवाले भट्टराईले देखाएको बाटोमा नेपाली काँग्रेस एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सभापति देउवाले परिवर्तन गतिशील हुने भएकाले अव पछाडि फर्कन नसकिने भन्दै सबै मिलेर वर्तमान व्यवस्थालाई सफल बनाउनुपर्ने बताउनुभयो ।
सभापति देउवाले बृहत् अध्ययन अनुसन्धान गरी भट्टराईको जीवनीलाई संस्थागत गर्ने खालका सामाग्री उत्पादन गरी त्यसलाई पुस्तकको रूप दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति एवं रक्षा मन्त्री पूर्ण बहादुर खड्काले कृष्णप्रसाद भट्टराईको पारदर्शी र सादगी व्यवहारको अनुकरण नै उहाँप्रतिको सच्चा सम्मान हुने बताउनुभयो ।
कार्यक्रममा आदर्श राजनीति, विधिको शासन र किशुनजीको योगदान , विषयमा विमर्श समेत गरिएको छ । विमर्शमा वरिष्ठ राजनीतिज्ञ नीलाम्बर आचार्य र राजनीतिक विश्लेषक डा. सिकेलाल वक्ताका रुपमा हुनुहुन्थ्यो भने वरिष्ठ सञ्चारकर्मी डा. नवराज लम्सालले सहजीकरण गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्