तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय स्तरीय टि–२० क्रिकेटको उपाधि सिद्धार्थ शिशु सदनलाई

जनकपुरधाम । जनकपुरधाममा आज सम्पन्न भएको अन्तर विद्यालय रनिङ्ग शिल्ड टि –२० क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदन विद्यालयले जितेको छ ।

पहिलो ब्याटिङ गर्दै मिट विद्यालयका खेलाडीहरूले निर्धारित ओभरको खेलमा १ सय २६ रन बनाएका थिए । प्रतिउत्तरमा ब्याटिङ गरेको सिद्धार्थ शिशु सदनले १९.४ ओभरमा ९ विकेटको क्षतिमा १ सय २७ रन बनाउँदै विजयी भयो ।

एन प्याब्सन धनुषाको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको संयोजनमा भएको सो प्रतियोगिता मङ्सिर २६ गते शुरु भएको थियो ।

प्रतियोगितामा विजयी सिद्धार्थ शिशु सदन विद्यालयलाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शिल्ड, कप तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

उपविजेता मिट विद्यालयलाई पनि शिल्ड, कप तथा प्रमाणपत्र वितरण गरियो । एन प्याब्सन धनुषाका अध्यक्ष आशिष झाको अध्यक्षतामा भएको प्रतियोगिताको फाइनलमा म्यान अफ दि म्याच घोषित भएका खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याटिङ गरेका वेस्ट ब्याट्स म्यान तथा उत्कृष्ट बलिङ गरेका उत्कृष्ट बलरलाई पनि पदक तथा कपसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले विद्यालय स्तरमा खेलको भावनाको विकास भएको खण्डमा विद्यार्थीको मानसिक तथा शारीरिक विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाममा खेलकुदको वातावरण बन्दै गएकोमा खुशी व्यक्त गर्दै रंगशाला निर्माणका प्रक्रिया अगाडी बढिसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button