आधुनिक यन्त्रका कारण दाइँ गर्ने परम्परा लोप हुँदै
सङ्खुवासभा । सङ्खुवासभाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्याहार्ने चटारोमा छन् ।

किसानहरू एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । सङ्खुवासभामा पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप हुन थालेको छ ।
गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँँ संस्कृति हराउँदै जान थालेको हो । गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याइ धान झारेर पराल घरमा भित्र्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ गर्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ ।

एक दशकअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ गर्ने आएका किसानहरू पछिल्लो समय खेतालाको अभाव हुन थालेपछि आधुनिक मेसिनको सहायताबाट दाइँ हाल्न थालेका छन् । कृषिमा भित्रिँदै गरेको प्रविधिको विकाससँगै गोबर माटोले पोतेको खलोमा गोरुले पराल मिचेर धान झार्न दाइँ गर्ने परम्परा लोप हुन थालेको हो ।
दाइँको तयारीका लागि पाँच÷सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गरो खुर्केर खलो लिपपोत गरेर, मियो गाडेर, धानको कुन्यू लगाउने प्रचलन अहिले लोप हुने थालेको पाँचखपन नगरपालिका–१ ओतेनका स्थानीय भैरवबहादुर थापाले बताउनुभयो । पहिले पहिले दाइँमा सिमेभुमे नागहरूको पूजा गर्ने चलन भए पनि पछिल्लो युवापुस्ताले त्यो छाडेर आधुनिकतातर्फ लागेको थापाले बताउनुभयो ।
युवा शक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे नपाइनु तथा पाइएका खेतालाको ज्याला महँगो भएकाले दाइँ गर्ने संस्कृति लोप हुन थालेको स्थानीय सुरेश पुरीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्