चितवनमा तोरी खेती गर्ने किसान बढेसँगै उत्पादन बढ्ने अनुमान

चितवन । चितवनमा विगत केही वर्षदेखि तोरी लगाउने किसान बढ्न थालेका छन् ।
उत्पादन र बजार समेत राम्रो हुन थालेपछि क्षेत्रफलसँगै उत्पादन पनि बढ्न लागेको हो ।
गहुँ र तोरीको सिजन एकै समयमा पनि तुलनात्मक रुपमा तोरीमा खर्च कम र आम्दानी बढी हुने भएकाले तोरी खेती गर्न थालेको किसानहरूको भनाई छ ।
दुई दशकअघि चितवन तोरीको जिल्लाको रुपमा प्रख्यात थियो । त्यसपछि केही बर्ष तोरीको उत्पादनमा ह्रास आएको थियो । तर पछिल्ला वर्षहरुमा बिस्तारै उनीहरू यसतर्फ आकर्षित हुँदै गएका छन् । तेलको मूल्य वृद्धि हुँदा अहिले बजारमा तोरीले राम्रो मूल्य पनि पाएको छ ।
खास गरी पूर्वी चितवनका अधिकांश किसानले यसबर्ष तरकारीको सट्टा तोरी लगाएका छन् । रत्ननगर नगरपालिका –७ का किसान छनु राम महतो तोरीको उत्पादन र आम्दानी राम्रो हुने भएकाले आफूले तोरी खेतीलाई निरन्तरता दिँदै आएको बताउनुहुन्छ ।
उहाँले १५ वर्षदेखि १६ कठ्ठा क्षेत्रफलमा तोरी खेती गर्दै आउनुभएको छ । ‘मैले हरेक बर्ष तोरीखेती गर्दै आएको छु, उहाँले भन्नुभयो, “यसबर्ष मौसम अनुकूल छ । मौसमले साथ दिएमा उत्पादन पनि बढ्छ ।”
तोरी खेतीमा खर्च कम, रोग कम देखिने, फाइदा पनि बढी हुने भएकाले आफु तोरी खेतीतर्फ आकर्षित भएको उहाँको भनाई छ । त्यस्तै अहिले तोरीको बजारीकरणको पनि राम्रो व्यवस्था रहेको उहाँको भनाई छ ।
कतिपय ग्राहकहरू घरमै आएर तोरी खरिद गर्नुहुन्छ । तोरी मिलहरूले सिधैँ खरिद गरेर पनि लान्छन् । बजारको लागि समस्या छैन ।’ उहाँले भन्नुभयो । तोरी बालीको लागि समयमै मल उपलब्ध र मौसमले साथ दियो भने राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
चितवनमा कात्तिकदेखि नै तोरीखेती गर्ने गरिन्छ र माघको अन्तिममा थन्क्याईन्छ ।अधिकांश किसानहरुले बर्षे धान थन्क्याएपछि तोरी लगाउने गर्छन् ।
रत्ननगर नगरपालिका वडा नम्बर ७ मैनाहाका अर्का किसान बिक्रमी महत्तोले १३ वर्षदेखि ६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले आफूले तोरीखेती निरन्तरता दिँदै आएको बताउनुहुन्छ । यसबर्ष मौसम अनुकूल भएकोले उत्पादनमा थप वृद्धि हुने उहाँको अपेक्षा छ । ‘अहिले तोरी पहेँलै भएर फुलेको छ, उहाँले भन्नुभयो, “गत बर्ष पानी परेकाले केही असर गरेको थियो । ‘यसबर्ष अहिले सम्मको मौसम ठिक छ, अब तोरी थन्क्याउने बेला पानी परेन भने पोहोरको भन्दा यसबर्ष तोरीको उत्पादन बढ्छ ।” उहाँले भन्नुभयो ।
कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी उमरज अर्यालले पछिल्लो समय चितवनका कृषकहरूमा तोरी खेतीमा आकर्षण बढ्दै गएको बताउनुभयो । उहाँले चितवनमा बिगत ३ ÷४ वर्षदेखि तोरी खेतीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार चितवनमा गत आर्थिक बर्ष २०७९÷०८० मा १४ हजार ७६५ क्षेत्रफलमा १९ हजार ४ सय ५ मेट्रिकटन तोरी उत्पादन भएको थियो । जसमा १ दशमलव ३ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको छ ।
यस्तै आर्थिक बर्ष २०७८ – २०७९ मा १२ हजार २ सय ६५ क्षेत्रफलमा १४ हजार ७१८ मेट्रिकटन तोरी उत्पादन भएको थियो । जसमा १ मेट्रिकटन प्रतिहेक्टर उत्पादन भएको थियो ।
“यसबर्ष तोरी उत्पादनको तथ्याङ्क त छैन । तर हामीले फिल्ड भिजिटमा गएअनुसार यो बर्ष पोहोर र अघिल्लो बर्षभन्दा क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्व बढ्ने अनुमान गरेका छौँ ।” ज्ञानकेन्द्रका सूचना अधिकारी उमराज अर्यालले भन्नुभयो ।
तोरी बाली चाँडै पाक्ने र निकुञ्ज नजिक रहेका बारीमा पनि जङ्गली जनावरले कम असर गर्ने भएकाले पनि किसानहरूको आकर्षण बढ्दै गएको अर्यालको भनाई छ ।
पूर्वी चितवनका खैरहनी, कालिका, रत्ननगरपालिका र पश्चिम चितवनमा शिवनगर, पार्वतीपुर शुक्रनगर, मेघौली लगायतका क्षेत्रहरूमा तोरी खेती लगाउने किसानहरूको सङ्ख्या बढ्दै गएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्