तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा माओवादी केन्द्रले गठन गर्‍यो  सात सदस्यीय विधान मस्यौदा समिति

काठमाडौँ I नेकपा माओवादी केन्द्रको उपलब्ध पदाधिकारी बैठकले पार्टीको विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अभियानबाट पार्टी चलायमान र गतिशील भएको भन्दै भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले देशैभरि पालिका स्तरमा जनपरिचालनसहित यही पुस १६ गते पार्टी रूपान्तरण अभियान समापन गर्ने निर्णय पनि गरेको छ ।

यसै गरी माओवादी केन्द्रको उपलब्ध पदाधिकारीहरूको बैठकले पार्टीको विधान सम्मेलनको तयारी स्वरूप विधान मस्यौदा तयार पार्न सात सदस्यीय मस्यौदा समिति गठन गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू  गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवहरू गणेश शाह र राम कार्की हुनुहुन्छ ।

विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button