धनगढीमा जाऊँ है पोखरा अभियान

धनगढी । सुदूरपश्चिमबाट भारतीय सहितका अन्य पर्यटकलाई लक्षित गरी धनगढी–पोखरा सिधा हवाई उडान पुनः नियमित सञ्चालन गर्न माग गरिएको छ । पोखराबाट सुरु भएको जाऊँ है पोखरा अभियान अन्तर्गत सोमबार पोखरा र धनगढीका पर्यटन व्यवसायी सहित विभिन्न संघ संस्थाका व्यक्तिहरू बिच भएको छलफलमा सहभागीहरूले दुवै क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न धनगढी देखि पोखरासम्मको सिधा हवाई उडान गर्न माग गर्नु भएको हो ।
केही समय अघि धनगढी–पोखरा बुद्ध एयरले सिधा हवाई उडान सुरु गरे पनि कोभिड पछि देशमा आर्थिक मन्दीका कारण उक्त सेवा हाल स्थगित हुनुले पोखरा धनगढीको पर्यटन प्रबद्र्धनमा प्रभावित भएको व्यवसायीहरूले उक्त कार्यक्रममा गुनासो गर्नु भएको थियो । होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा पश्चिम तर्फ सुरु गरिएको उक्त अभियान अन्तर्गत सहभागीहरूले स्तरीय बस सेवा र यस्ता अभियान दुवै तर्फ हुनु पर्ने बताउँदै धनगढीका व्यवसायीहरूले पोखराबाट पनि आफूहरूको क्षेत्रमा पर्यटकहरू पठाउन माग गर्नु भयो । पोखरालाई केन्द्र सरकारले पर्यटकीय राजधानी घोषणा नगरेपनि पोखरा पर्यटकीय राजधानी रहेको दाबी गर्दै पोखरा र सुदूरपश्चिम क्षेत्रको पर्यटकीय राजधानीसँग हरेक पर्यटकीय गन्तव्यहरू जोड्न जरुरी रहेको बताउनु भएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले पर्यटकीय पूर्वाधार निर्माणको क्रममा रहेको बताउनु भयो । पोखराबाट आफूहरूले धेरै कुरा सिक्नुपर्ने बताउँदै उहाँले धनगढी क्षेत्रको पर्यटन प्रबद्र्धन र पूर्वाधार विकासमा संघ र प्रदेश सरकारले समेत खासै सहयोग नगरेको गुनासो गर्नु भयो । धनगढीले वार्षिक दुई सय जना ज्येष्ठ नागरिकलाई पोखरा हुँदै मुक्तिनाथ मन्दिरसम्म लैजाने गरेको उपप्रमुख रानाले बताउनु भयो । स्थानीय उत्पादनलाई आफूहरूले जोड दिएको उहाँको भनाई थियो ।

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलले निजी क्षेत्रलाई सुदूर पश्चिममा पर्यटन प्रवद्र्धन र पर्यटन क्षेत्रको पूर्वाधार विकासमा गर्नुपर्ने विकासका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गर्नु भयो । गण्डकी प्रदेश सरकार र पोखराका पर्यटन व्यवसायीसँग सहकार्य गरेर सुदूर प्रदेश सरकार अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
होटल व्यवसायी महासङ्घका पर्यटन सचिव कलमबहादुर बमले राज्यका तीन तहका सरकारका बीचमा राम्रो सहकार्य हुन नसक्दा व्यवसायी मर्कामा परेको दाबी गर्नु भयो । सुदूर पश्चिमबाट पोखरा सिधा उडान जोड्न सके भारतीय पर्यटकलाई सहज हुने उहाँले दाबी गर्नु भयो । विगत २० वर्षदेखि जाऊँ है पोखरा अभियान सञ्चालन भएको स्मरण गर्दै उहाँले उक्त अभियानले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नु भयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले पर्यटन बोर्ड व्यवसायीसँग मिलेर पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्दै आएको बताउनु भयो । भारत र चीन पर्यटकको समुन्द्र कै रुपमा रहेको अवस्थामा नेपालले गिलास थापेर बस्दा पनि त्यो भर्न नसकेको टिप्पणी गर्नु भयो ।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले सुदूर प्रदेशसँग पोखरामा सिधा हवाई कनेक्सन हुनुपर्नेमा जोड दिनु भयो । नाट्टा सुदूर पश्चिमाञ्चल प्रदेश संघका अध्यक्ष शिवहरि पाण्डेले कोभिड पछि पर्यटन व्यवसायी पलायन हुने अवस्थाबाट अहिले लयमा फर्केको बताउनु भयो ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेले पोखराका व्यवसायीले चलाएको अभियान आँफूहरुका लागि प्रेरणा भएको बताउनु भयो ।
होटल सघं पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटल संघ पोखराले चलाएको जाऊँ है पोखरा र चलिए पोखरा लगायतका कार्यक्रमका साथै अन्य पर्यटकीय संघ संस्थाहरूले चलाएका अभियानले अहिले पोखरा पर्यटन चलायमान बनाएको दाबी गर्नु भयो । मुक्तिनाथ मन्दिरका कारण पोखरा क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन भएको उहाँले दाबी गर्नु भयो ।
होटल संघ पोखराका सचिव पार्वती पाण्डेले शुक्रवारबाट सुरु भएको जाऊँ है पोखरा अभियान विभिन्न कार्यक्रम सहित, लुम्बिनी, नेपालगन्ज, धनगढी हुँदै अब महेन्द्रनगर पुग्ने बताउनु भयो । टोली महेन्द्रनगरसम्म पुगेर पोखरा फर्कने भएको उहाँले जनाउनु भयो । उक्त टोलीमा पोखराबाट होटल संघ सहित पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेलले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्