बाजुरामा ट्याक्टर दुर्घटना ४ जनाको मृत्यु
बाजुरा।बाजुराको मार्तडी घट्मुना सडकमा पर्ने बडिमालिका नगरपालिका २, खडीगाडमा आइतबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बडिमालिका नगरपालिका २ का ३८ वर्षीय देवराज जोशी सोही वडाकी ३३ वर्षीया करिष्मा रोकाया, बडिमालिका नगरपालिका १ का ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका ६ का ३० वर्षीय ट्र्याक्टर चालक हिक्मत रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले बताउनुभयो ।
उहाँका अनुसार मार्तडीबाट गौमुल गाउँपालिकाको घट्मुना जाँदै गरेको लु.४त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्र्याक्टर चालक आपसमा अगाडि जाने प्रतिस्पर्धा गर्न खोज्दा दुई वटै ट्याक्टर दुर्घटना भएका हुन्।
लु.४त ७३०५ नम्बरको ट्र्याक्टर सडकको माथिपट्टि दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्र्याक्टर खडीगाड खोलामा खसेको प्रहरी नायब उपरीक्षक बोहोराले बताउनु भयो ।
प्रहरी कार्यालय बाजुराका अनुसार लु.४त ७३०५ को ट्याक्टर दुर्घटना भए पनि मानवीय क्षति नभएको र अर्को ट्र्याक्टरका चालकसहित चार जनाको मृत्यु भएको हो । लु.४त ७३०५ नम्बरको ट्याक्टर चालक भने फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्