तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसलाई जनजनमा पुर्याउन उपसभापति खड्काको कार्यकर्तालाई निर्देशन

काठमाडौँ,नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्ने बताउनुभएको छ ।

आज पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्यमान्यता भत्कँदै गएको स्वीकार गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका उपसभापति खड्काले यस प्रशिक्षणले ती कमीकमजोरी सच्याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाँले कार्यकर्तालाई आम नागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सच्याउनुपर्ने कमीकमजोरी प्रति सजग गराउने दायित्व पूरा गर्न निर्देशन दिनुभयो ।

बागमती प्रदेश प्रशिक्षण विभागको संयोजनमा आयोजित प्रशिक्षणमा कार्यकर्तालाई बागमती प्रदेशको तल्लो तहसम्म पुगेर कांग्रेसलाई जनजनमा पुर्याउन, समय सापेक्ष परिवर्तन हुन र जनताप्रति जिम्मेवार र उत्तरदायी भएर काम गर्न पनि उपसभापति खड्काले निर्देशन दिनुभयो ।

उपसभापति खड्का पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख समेत हुनुहुन्छ । प्रतिष्ठानले आयोजना गरेको तीन दिने प्रशिक्षणमा बागमती प्रदेशका ६६ प्रदेश निर्वाचन क्षेत्रबाट एक/एक जना सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button