आज राति मिथुन उल्का वर्षाको गतिविधि उच्च
काठमाडौँ । यही मङ्सिर १८ गतेदेखि सुरु मिथुन उल्का वर्षाको आज राति अत्यधिक सक्रियता रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।
अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । यो उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिँदै छ । उल्का वर्षाको समयमा उल्काहरू मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा (जेमिनिड मेट्योर शावर) नामकरण गरिएको उहाँले बताउनुभयो ।
उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बिर खिच्न सक्नेछन् । अवलोकनको लागि आज राति ८ः०० बजे देखि शुक्रबार बिहान ५ः३० सम्मको समय अनुकूल हुने सोसाइटीले जनाएको छ । उल्का वर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम देखिन्छ । मौसमले साथ दिएमा उल्का वर्षा हेर्नेका लागि सन् २०२३ कै उत्कृष्ट समय हुनेछ । उल्का वर्षा हेर्न कुनै दूरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।
सोसाइटीले विज्ञप्ति मार्फत् देशभर छरिएर रहेका सदस्य तथा शुभचिन्तकलाई आआफ्ना स्थानमा रहेका नजिकैका खुल्ला स्थानबाट हेर्न र तस्बिर लिन आग्रह गरेको छ । सबै अवलोकनकर्तालाई आफ्ना तस्बिर सोसाइटीको कार्यालयमा पठाउन पनि अध्यक्ष भट्टराईले आह्वान गर्नुभएको छ । प्राप्त तस्बिरलाई सोसाइटीले सामाजिक सञ्जालामार्फत् सार्वजनिक गर्ने पनि सोसाइटीको विज्ञप्तिमा उल्लेख छ । उल्का वर्षासम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ । हाल जारी उल्का वर्षा पुस १ गतेसम्म सक्रिय रहने उहाँले सुनाउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्