तपाईँ सुन्दै हुनुहुन्छः

मनाइयो संघीय संसद् सेवा दिवस

काठमाडौँ । संघीय संसद् सेवा दिवस आज विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

सिंहदरबारस्थित सचिवालयका विशेष समारोहका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को गरिमा उच्च राख्न स्थायी रुपमा संसद्मा काम गरिरहेका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सभामुख घिमिरेले संघीय संसद् सचिवालयमा नीति नियमका कारण भइरहेका समस्या समाधान गर्न सकिने खालका भएको भन्दै कानुन निर्माणको थलोमा रहेर योगदान पुर्‍याउने विषयमा उदाहरणीय बन्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।  

सभामुख घिमिरेले संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत आवश्यक कुरा उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गर्दै संघीय संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी र संसदीय काम कारबाहीमा अविच्छिन्न रुपमा सहयोग पुगिरहेको बताउनुभयो । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले संघीय संसद्लाई अन्य मन्त्रालय र विभागमा जस्तो सीमा तोकेर नभई संसद्को मागका आधारमा बजेट निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसद्का कर्मचारीको समस्या समाधान र सुविधा वृद्धि गर्न प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गरेर पहल गर्ने विश्वास दिलाउनुभयो । 

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले कर्मचारीलाई विभेदरहित रुपमा सुविधा दिलाउन पहल गर्नुपर्ने बताउनुभयो । 

यसैगरी, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले संघ, प्रदेश र स्थानीय तहसँग जोडिएको संसद् सचिवालयको नीति निर्माण महत्वपूर्ण जिम्मेवारी रहेकाले कर्मचारीको अनुभवलाई प्रश्रय दिनुपर्ने र वृत्ति विकासमा सहज बनाउनुपर्ने बताउनुभयो ।

नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्यालले सरकारका काममा सघाउन र अनुगमन गर्न सचिवालयका कर्मचारीको भूमिका सक्रिय रहेको भन्दै कर्मचारीका समस्या सम्बन्धित निकायबीच समन्वय गरेर समाधान गर्न सकिने बताउनुभयो ।

संघीय संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले संसद् सेवा स्थापनाको उद्देश्य पुरा भए नभएको विषयमा समीक्षा गर्ने समय आएको बताउनुभयो ।

उहाँले कर्मचारीको उत्साह बढाउने कुरा सेवा सुविधासँग जोडिएको भन्दै सामूहिक प्रयासबाट यसको समाधान गर्न प्रयास गरिने बताउनुभयो ।

कार्यक्रममा सर्वोत्कृष्ट संघीय संसद् सेवा पुरस्कार एक जना जनालाई एक लाख रुपैयाँ, उत्कृष्ट संघीय संसद् सेवा पुरस्कार एक जनालाई ७५ हजार रुपैयाँ र संघीय संसद् सेवा पुरस्कार दुई जनालाई ५०÷५० हजार रुपैयाँ प्रदान गरिएको छ । 

यसैगरी २५ वर्ष काम गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक र सेवा दिवसका अवसरमा आयोजित खेलकुद प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियो । 

विसं २०५८ मा स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ । निजामती सेवा ऐनबाट निकालेर संसद् सेवालाई छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button