पोखराको एक दोहोरी साँझमा आगलागी, करिब १ करोडको क्षति

पोखरा । पोखराको एक दोहोरी साँझमा आगलागी भएको छ । पोखरा सृजनाचोक स्थित नैना दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रा.लि.मा आज बिहान अचानक बिजुली सर्ट भई आगलागी भएको कास्की प्रहरीले जनाएको छ ।
उक्त दोहोरी साँझमा आज बिहान ७ बजे मात्र आगो नियन्त्रणमा लिन सफल भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले बताउनु भयो । उक्त घटनामा मानवीय क्षेती भने नभएको उहाँले जनाउनु भयो ।
पोखरा ८ स्थित माधव बरालको घरको तेस्रो तलामा सञ्चालनमा रहेको उक्त दोहोरी साँझमा आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको दोहोरी साँझका सञ्चालक विष्णु आचार्य (कोमलनाथ) ले गुनासो गर्नु भयो । आज बिहान स्थानीयले जानकारी गराए पछि आफ्नो दोहोरी साँझमा आउँदा आगलागी भएको अवस्थामा देखे पछि प्रहरीलाई र दमकललाई खबर गरेको उहाँले जनाउनु भयो । १५ महिना अघि करिब १ करोड ८ लाखको लगानी सञ्चालन गरेको उक्त दोहोरी साँझमा आगलागी हुँदा आफ्नो लगानी नराम्रोसँग डुबेको उहाँले गुनासो गर्नु भयो ।

आगलागी भएको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरको कमाण्डमा खटिएको १८ जनाको टोली सहित दमकल र स्थानीयको सहयोगमा आज बिहान ७ः०५ बजे उक्त आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट मोबाइल विभिन्न कम्पनीको १० थान, फ्रिज १ थान, सिसी क्यामेरा ५ थान, कम्प्युटर १ थान, साउन्ड सिस्टम १ सेट, टिभी १ थान, सोफा १५ सेट, विभिन्न ब्राण्डको रक्सी ८० हजार बराबरको, ग्यास गिजर १ थान, वाल फेन ४ थान, वायरिङ सम्पूर्ण र नगद पचास हजार लगायतको क्षति भएको आचार्य परिवारले प्रहरी सामु जानकारी गराउनु भएको छ । तेस्रो तलामा साउन्ड प्रुफ हुने गरी बनाएको उक्त दोहोरी साँझको सबै झ्याल तथा ढोका बन्द भएको हुँदा आगलागी भएर पनि आगो लाग्दै निसासिएर कोठामा बिस्तारै आगो लाग्दै निभ्दै गरेको हुन सक्ने स्थानीयले बताउनु भयो । उक्त दोहोरीमा लागेको आगो अन्य कोठामा र अन्य घरहरूमा सल्केको भए मानवीय सहित अझ धेरै क्षति हुन सक्ने थियो ।








प्रतिक्रिया राख्नुहोस्