तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता नभाल्नीलाई तत्काल रिहा गर्न इयुको आह्वान

ब्रसेल्स।  युरोपेली युनियन (इयु) ले कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई तत्काल रिहा गर्न आह्वान गरेको छ । नभाल्नीका सहयोगीहरूले उहाँ बेपत्ता हुनुभएको बताएका छन् । उहाँको टिमका अनुसार कयौँ अदालती सुनुवाइमा उहाँ सहभागी हुनुभएको छैन । नभाल्नीका वकिलहरूलाई उहाँलाई कारागारबाट कुनै अज्ञात स्थानमा लगिएको बताइएको छ । 

“सात दिनदेखि नभाल्नी बेपत्ता भएको अत्यन्त चिन्ताजनक खबर”, इयुका विदेश नीति प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भन्नुभएको छ, “रुसको राजनीतिक नेतृत्व उहाँको कारागारमा सुरक्षा र स्वास्थयका लागि जिम्मेबार छ, यसका लागि उनीहरूलाई जवाफदेही बनाइने छ ।”

उहाँले नभाल्नीलाई राजनीतिबाट प्रेरित कैदबाट तत्काल बिनाशर्त रिहा गर्न आग्रह गर्नुभयो । 

सन् २०२० मा सोभियत युगको स्नायु एजेन्ट नोभिचोकको विषाक्तताबाट बाँचेका नभाल्नीले ‘चरमपन्थी’ र धोखाघडी लगायतका धेरै आरोपमा रुसी अदालतले दोषी ठहर गरेपछि १९ वर्षको कारागार सजाय भोगिरहनुभएको छ । 

उहाँका सहयोगीहरूले नभाल्नी बेपत्ता हुनुलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मार्चमा पाँचौँ राष्ट्रपति कालका लागि निर्वाचन लडेर लामो शासन विस्तार गर्ने योजना बनाएको घोषणासँग जोडेका छन् । अमेरिकाले नभाल्नीसम्म पुग्न वा उहाँको अवस्था थाहा पाउन सहयोगी टिमको असमर्थताप्रति ‘गहिरो चिन्ता’ रहेको भन्दै ‘हस्तक्षेप’ शब्द प्रयोग गरेकामा क्रेमलिनले मङ्गलबार वासिङ्टनको आलोचना गरेको छ । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button