भूमि बैङ्क स्थापना गर्दै कास्कीको रुपा गाउँपालिका

कास्की । कास्कीको रुपा गाउँपालिकाले पालिकाभित्र बाँझिएका खेतीयोग्य जग्गाको उपयोग गर्ने गरी भूमि बैङ्क स्थापना गर्ने तयारी गरेको छ । भूमि बैङ्क स्थापनाका लागि पालिकाले भूमि बैङ्क कार्यक्रम सञ्चालन कार्यविधि तयार गरी गाउँसभाबाट पारित गरी प्रक्रियाअघि बढाएको छ ।
गाउँपालिकाले भूमि बैङ्क सञ्चालन गर्नका लागि बाँझिएका जग्गाको सूचीकरण गर्न भूमि बैङ्कमा राख्न चाहने सर्वसाधारणका लागि आवेदन माग गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनु भयो । वडामार्फत आवेदन माग गरिएको उल्लेख गर्दै उहाँले प्राप्त आवेदन अनुसार जग्गाको पहिचान गरिने उल्लेख गर्नु भयो ।
सूचीकृत भइसकेपछि ती जग्गामा व्यवसाय गर्न चाहनेका लागि आवेदन माग गरिने अध्यक्ष ओझाले सुनाउनु भयो । कार्यविधि अनुसार जग्गा जमिन बाँझो राख्ने प्रवृत्ति न्यून गर्नु यस कार्यक्रमको उद्देश्य हो । त्यस्तै लगानीको दायरा बढाई युवामा उद्यमशीलता बढाउनुका साथै गाउँपालिकाभित्रका बाँझा जग्गा भाडामा लिई आन्तरिक तथा बाह्य लगानी भित्र्याउने योजना छ ।
शिक्षित र उत्साही युवालाई कृषि तथा उद्यममूलक व्यवसायतर्फ आकर्षित गरी स्वरोजगारी सिर्जना गरिने कार्यविधिमा उल्लेख छ । फलफूल, तरकारी, खाद्यान्न तथा अन्य पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाइने योजना रहेको अध्यक्ष ओझाले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्