हाम्रो वास्तविकताका आधारमा संसद् अघि बढ्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र संसदीय समितिलाई अघि बढाइने बताउनुभएको छ ।
आज १७औँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आयोजित ‘संसद् सेवाको प्रभावकारिता’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले मुलुककै सर्वोच्च विधायिकीलाई विशिष्ट तुल्याउने गरी कार्यसम्पादन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “संसद् सर्वोच्च विधायिकी संस्था हो, यो अहिले त्यो अवस्थामा छ कि छैन रु हामी सबै मिलेर मेहनतकासाथ सदनलाई सर्वोच्च संस्था बनाउनुपर्छ । सदनलाई गरिमायुक्त र नतिजामुखी तुल्याउने ढङ्गले काम गरौँ ।”
संसद्लाई प्रभावकारी तुल्याउन कर्मचारीमा इमानदारीका साथ काम गर्ने प्रण हुनुपर्छ भन्दै सभामुख घिमिरेले कतिपय संस्थामा योग्य कर्मचारी भए पनि परिणाम दिन सकेको उदाहरण प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताका प्रतिनिधिसँग सिधै काम गर्ने, कानुन तर्जुमाको जिम्मेवारीमा रहने भएकाले संसद् सेवाका कर्मचारी मर्यादित र अनुशासित ढङ्गबाट कार्यसम्पादन गर्नेतर्फ सजग र सचेत हुनुपर्छ ।”

त्यस अवसरमा राष्ट्रियसभा सदस्य डा खिमलाल देवकोटाले संसद् र संसद् सचिवालयको प्रभावकारिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्यपालिकाले शक्ति सन्तुलनको मर्म विपरीत सङ्घीय संसद्लाई थोरै रकम विनियोजन गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा सरकारले प्रस्तुत गरेको रु १७ खर्ब ५१ अर्बको बजेटबाट संसद्लाई जम्मा रु एक अर्ब २२ करोड मात्र रकम विनियोजन भएको छ । छिमेकी मुलुकमा एक सांसद बराबर छ जना विशेषज्ञसहितका सहयोगी कर्मचारी रहने गरेको पाइएकामा नेपालमा भने एक बराबर एक मात्रै छ । प्रदेश संसद्को समेत सङ्घीय संसद्ले अभिभावकत्व लिनुपर्छ ।”
प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सचिवालयका कर्मचारीमा उत्प्रेरणाको अवस्था कमजोर मात्र होइन आवश्यक उपकरण र दक्ष जनशक्तिको समेत कमी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकाले गुणस्तरीय सेवा प्रदान गर्न नसक्दा राज्यको उद्देश्य प्राप्ति नभएको मात्र होइन, कर्मचारीको मनोबल समेत कमजोर भएको छ ।”
संसद् दिवस मूल समारोहका संयोजक एवं सचिवालयका सचिव डा रोजनाथ पाण्डेले आफ्नो बुद्धि र विकेकले भ्याएसम्म जिम्मेवारी पूरा गरिरहेका विशिष्टकृत संसद् सेवाका कर्मचारीको पीर मर्का हेरिदिने कसले भन्ने प्रश्न उब्जेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसद् सेवाका कर्मचारी कुनै ‘बाद’का आधारमा नभई व्यावसायिक रूपमा रूपमा काम गरिरहनुभएको छ, उहाँहरूको सेवा सुविधा र उत्प्रेरणा दिने काममा अभिभावकले विशेष ध्यान पुर्याउनु पर्ने देखिन्छ ।”
वरिष्ठ पत्रकार हरिबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै लोकतन्त्रको मन्दिर मानिएको सङ्घीय संसद्ले उच्च मनोबलका साथ गुणस्तरीय कानुन निर्माणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
संसद् सचिवालयका सहसचिव बविता मिश्रले मुलुकको नीतिगत तथा कानुनी व्यवस्था गर्ने संसद् सेवाप्रतिको चासो पछिल्लो समय निकै खस्केको विषय परीक्षामा सहभागिता, नतिजा र टिकाइ राख्न देखिएको चुनौतीले छर्लङ तुल्याएको बताउनुभयो ।
देशमा निजामती सेवाबाट संसद् सेवा अलग भएका दिन प्रत्येक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइने गरिएको छ । दुई सदनात्मक सङ्घीय संसद् सञ्चालन र व्यवस्थापनका लागि संसद् सचिवालयले काम गर्दै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्