संसदीय सुनुवाई समितिमा उजुरीकर्तासँग छलफल

काठमाडौँ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस व्यक्तिहरूको उजुरीका विषयमा उजुरीकर्ताहरूसँग आज छलफल गरेको छ ।
समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल विरुद्ध परेको उजुरीका विषयमा आज छलफल गरेको हो ।
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीश विरुद्ध १० वटा उजुरीहरू परेका थिए । जसमध्ये समितिले आज सात जना उजुरीकर्तासँग छलफल गरेको हो ।
छलफलका क्रममा उजुरी कर्ताले प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुङ्गानाले राजस्व न्यायाधिकरणमा रहँदा नियम विपरीत फैसला गरेको, सारंगा सुवेदीले उच्च अदालत जनकपुरमा रहँदा कर्तव्य ज्यान मुद्दाका आरोपीलाई धरौटीमा छोडेको, दाइजोको विषयलाई लिएर हत्या गरिएकी आरती शाहको हत्यारालाई साधारण तारेखमा छोडिएको र फैसला न्यायसम्मत नभएको विषय उठाएका छन् ।
यस्तै प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले सम्पत्ति मुद्दामा न्यायसम्मत फैसला नगरेको लगायतका विषय पनि उजुरीकर्ताहरूले उठाएका छन् ।
सुनुवाई समितिमा प्रस्तावित न्यायाधीश सारंगा सुवेदी विरुद्ध ६ वटा उजुरी परेको छ भने टेकप्रसाद ढुङ्गाना विरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमान विरुद्ध एकवटा उजुरी परेका थिए ।
संसदीय सुनुवाई समितिले आगामी २९ गते शुक्रवार ११ बजे सर्वोच्च अदालतका लागि न्यायाधीश पदमा सिफारिस हुनुभएका व्यक्तिहरूसँग सुनुवाई गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्