तपाईँ सुन्दै हुनुहुन्छः

तराई मधेशका जिल्लामा चिसो बढ्यो, विपन्न परिवार प्रभावित

वीरगंज । पर्सा, बारासहित तराई मधेशका जिल्लामा आजदेखि चिसो बढेको छ । आज बिहान देखि हल्का वर्षासँगै चिसो सिरिठो सहितको हावा चलेपछि जाडो बढेको हो । हल्का जाडो बढ्दै गएको भए पनि आजबाट चिसो सिरिठो सहितको हल्का बर्षाले यस वर्षको जाडो तराई मधेशमा आजबाट महसुस गरिएको छ । जाडो बढेसँगै बारा, पर्सा लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । 

चिसो बढेसँगै वीरगन्ज र आसपासका क्षेत्रमा सर्वसाधारणको आवतजावत पातलिएको छ भने ठाउँ गाउँमा मानिसहरू आगो तथा घुर बालेर बसेका छन् । चिसो बढेसँगै वीरगंज बजारमा न्यानो कपडा किन्ने तथा इलेक्ट्रिक हिटर, गिजरको विक्री बढेको छ । 

तर यता न्यानो कपडाको अभावमा विपन्न परिवारहरू भने पीडित भएका छन् । वीरगंज सहित तराईका जिल्लाहरूमा बर्सेनी पुस, माघको जाडोले न्यून आयआर्जन भएका अति विपन्न र दलित परिवार शीतलहरबाट प्रभावित हुँदै आएका छन् । कठ्याङग्रिदो जाडोको कारण तराई मधेशमा बर्षेनी विपन्न परिवारका व्यक्तिहरूको मृत्यु हुँदै आएको छ ।  

चिकित्सकहरूले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरूले स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेका छन् । नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज सिंहले जाडो याममा चिसोजन्य सङ्क्रमण बढ्ने भएकाले शरीर ढाक्ने न्यानो कपडा लगाउनुपर्ने र ताजा तथा तातो तथा झोलिलो खानेकुरा बढी खान सर्वसाधारणलाई आग्रह गर्नुभयो । 

चिसोको कारण विशेषगरि दम रोगी, मुटु रोगी, वृद्धवृद्धा, बालबालिकालाई बढी सास्ती हुने भएकाले सजग रहनुपर्ने डा. सिंहले आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button