तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा नयाँ दर्ता हुने सवारी साधनलाई इम्बोस्ड नम्बर अनिवार्य

पोखरा । कास्कीमा नयाँ दर्ता हुने सवारी साधनलाई इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी, कास्कीमा नयाँ दर्ता हुने सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न अनिवार्य गरिएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका कार्यालय प्रमुख डिल्लीराज रिजालले बताउनुभयो । 

यातायात व्यवस्था कार्यालय सवारी कास्कीले २०८० मङ्सिर १० गतेबाट अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न सूचना जारी गरेको उहाँले जनाउनु भयो । हालसम्म गण्डकीमा २ हजार ६ सय वटा सवारी साधनको इम्बोस्ड नम्बर जडान भएको प्रमुख रिजालले बताउनु भयो । पहिलो चरणमा नयाँ दर्ता गरेकाहरूको लागि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न आव्हान गरिएको बताउँदै उहाँले त्यस पछि क्रमशः नामसारी देखि नवीकरण गर्नेहरुको समेत अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्दै लैजाने योजना भएको प्रमुख रिजालले जनाउनु भयो । 

कार्यालयले दैनिक हाल ६० देखि ७० वटासम्म इम्बोस्ड नम्बर जडान गर्ने क्षमता रहेको उहाँले जनाउनु भयो । विभागले यदि सर्भरको क्षमता बढाइदिएको खण्डमा अहिलेको दोब्बर बढीलाई इम्बोस्ड नम्बर जडान गर्न सकिने प्रमुख रिजालले बताउनु भयो । उहाँका अनुसार कास्कीमा ३ लाख सानो तथा ठुला गरी सवारी साधनहरू दर्ता भएका छन् । जसमध्य २ लाख २५ हजार जसो मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन्। उक्त इम्बोस्ड नम्बर जडान गर्दा २ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने गर्दछ । 

केही समय अघि बसैलाई अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्न आव्हान गरे पनि कार्यालयको इम्बोस्ड नम्बर जडान गर्ने क्षमता कम भएकोले त्यसलाई स्थगित गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button