तपाईँ सुन्दै हुनुहुन्छः

एड्सबाट जोगिन जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरू पनि एचआइभी एड्सको उच्च जोखिममा रहेकाले यसबाट जोगिनका लागि अझै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । 

विश्व एड्स दिवसको अवसरमा मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले धनुषा जिल्लाको सपहीमा आज आयोजना गरिएको कार्यक्रममा सहभागी भएका यसका विज्ञहरूले यस प्रदेशबाट उल्लेख्य सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा रहेकाले विदेशमा रहेको वेलामा असुरक्षित यौन सम्पर्क गर्दा सङ्क्रमणको उच्च जोखिम भएकाले अझै जनचेतना मूलक कार्यक्रम गर्न आवश्यक भएकोमा जोड दिनुभयो । 

मधेश प्रदेशका जिल्लाहरूमा एचआइभी एड्स पीडितहरूको सङ्ख्या ३ हजार ९ सय २६ रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका सम्पर्क अधिकृत राजवीर यादवले जानकारी दिनु भएको छ । संक्रमित मध्ये १८ वर्ष मुनिका बालबालिकाको सङ्ख्या १ सय ७६ जना रहेका छन् । संक्रमित भएका बालबालिका मध्ये बालिकाको सङ्ख्या ६५, आमा बुबा नभएको १५, आमा बुबा मध्ये एक जना रहेको सङ्ख्या ६५ र १४ वर्ष मुनिका १ सय ४ जना रहेका छन् । 

जिल्लागत रुपमा सबैभन्दा बढी पर्सा जिल्लामा १ हजार २ सय ८७ जना, धनुषामा ७ सय ६७ जना, सर्लाहीमा ४ सय ७० जना, रौतहटमा ३ सय ४९, सिरहामा ३ सय ५१, महोत्तरीमा ३ सय ४९, बारामा १ सय ९१ र सबैभन्दा कम सप्तरी जिल्लामा १ सय ७३ जना संक्रमित रहेको निर्देशनालयले जानकारी दिएको छ । 

मधेश प्रदेशका जिल्लाहरूमा जाँच तथा परामर्श केन्द्रको सङ्ख्या १०, उपचार केन्द्रको सङ्ख्या १०, निःशुल्क औषधि वितरण ८ गैरसरकारी संस्था, लागु पदार्थको मौखिक पद्धतिद्वारा उपचार नारायणी अस्पताल र भाइरल लो८परीक्षण केन्द्रको रुपमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रहेका छन् । 

कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले एचआइभी एड्सको प्रभावकारी नियन्त्रण तथा उपचारका लागि अझै प्रचार प्रसार तथा जनचेतना फैलाउन आवश्यक भएको बताउनु भयो । 

उहाँले एड्स लागेकाहरूलाई हेला होइन माया गर्न आवश्यक भएको बताउँदै रोग लागेकाहरूलाई सामाजिक वा पारिवारिक रुपमा हेला गरेको खण्डमा रोगीको चाडै मृत्यु हुने भएकाले माया गर्न तथा सम्मानपूर्वक बाच्न पाउन दिनु पर्दछ भन्नुभयो । 

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोद कुमार यादवले एड्स रोग लागेपछि अहिले सजिलो उपचार विधि शुरु भएकाले नियमित औषधि सेवन गरेको खण्डमा रोगी दीर्घकालसम्म विजित रहन थालेको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button