तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौँ । सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने दुई करोड अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को यही मङ्सिर ७ गते र १३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले खाद्य तथा पोषण सुरक्षा आयोजना दोस्रोका लागि सो अनुदान प्राप्त हुने जानकारी दिनुभयो । 

यस्तै मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेन्च ४ दशमलव ४६५ मिलियन अर्थात् करिब ६५ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने, वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश कृष्ण गिरीलाई तोक्ने र सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ । 

यस्तै बैठकले राष्ट्रिय आम सञ्चारसम्बन्धी विधेयक, नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक, र सामाजिक सञ्जालको प्रयोगलाई नियमन सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

यसैगरी बैठकले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा भ्रमरपूर ५ महोत्तरीका सुबोधकुमार शर्मा र स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चिसापानी ५ तनहुँका डा गुणराज लोहनीलाई नियुक्त गर्ने, नेपाल इञ्जिनियरिङ सेवाको समूहिकरण क्लष्टर अन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सरिता दवाडीलाई बढुवा गर्ने, सांस्कृतिक संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा हतुवागढी २ भोजपुरका चन्द्रकुमार राईलाई तोक्ने लगायतका निर्णयहरू गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button