तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १०९ एचआइभी संक्रमित थपिए, ५५६ जना एआरटी उपचारमा

नेपालगन्ज । बाँकेमा १०९ जनालाई एचआइभी पोजिटिभ देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा एचआइभी परीक्षण गर्दा १०९ जना पोजिटिभ भेटिएको हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र साहका अनुसार बाँकेमा अहिले ५५६ जना एचआइभी सङ्क्रमितले एआरटी सेवा लिइरहेका छन् । ५५६ मध्ये ४१० जना बाँके जिल्लाकै हुन् । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज नेपालगन्जमा आयोजना गरिएको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क प्रस्तुत गरिएको हो ।

भेरी अस्पतालमा सन् २००४ देखि एआरटी सेवा सुरु भएको हो । सरकारले एआरटी सेवा नि:शुल्क रुपमा प्रदान गरिरहेको छ । बाँकेमा एचआइभी एड्सबाट हालसम्म १७२ जनाको मृत्यु भएको तथ्याङ्क छ । भेरी अस्पताल नेपालगन्जका एचआइभी फोकल पर्सन डा। सङ्केत रिसालले भेरी अस्पतालमा २० नम्बर कोठाबाट रोग पहिचान, परामर्श र नि:शुल्क औषधि वितरण गरिरहेको बताउनुभयो । उहाँले परामर्शकर्ताद्वारा नियमितरूपमा गोप्य परामर्श दिइरहेको जानकारी दिनुभयो । “गुम्सिएर नबसौँ, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेर नियमित औषधि सेवन गरे रोग नियन्त्रण हुन्छ, उपचार सम्भव छ,” डा। रिसालले भन्नुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बाँकेमा एड्स संक्रमण दर घट्दो क्रममा रहेको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले समाजमा एड्सप्रतिको नकारात्मक धारणा परिवर्तन हुँदै गएको बताउँदै समुदायस्तरमा परीक्षण र काउन्सिलिङलाई व्यापक बनाइएको जानकारी दिनुभयो । चन्दले नेपालगन्ज उपमहानगरपालिकाले एचआइभी सङ्क्रमितलाई प्रोत्साहन भत्ता समेत दिँदै आएको बताउनुभयो । एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले बाँकेमा एचआइभी संक्रमणदरमा उल्लेख्य सुधार भएको बताउनुभयो ।

“समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ” भन्ने नाराका साथ डिसेम्बर १ तारिख अर्थात् भोलि ३६औँ विश्व एड्स दिवस मनाइँदैछ । नेपालगन्जमा पनि भोलि सचेतनामूलक र्‍याली निकालिँदै छ । भेरी अस्पतालबाट बिहान साढे ७ बजे निस्कने र्‍याली बसपार्क पुगेर समापन हुने नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विनोद विकले बताउनुभयो । नेपालमा ३० हजार एचआइभी संक्रमित छन् । वयस्क जनसङ्ख्याको ०.१२ प्रतिशतमा एचआइभी संक्रमण दर छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button